काेभिड वार्डबाटै बेपत्ता सांसद शाहीको विज्ञप्ति : निकाे भए पछि सबै कुरा खाेल्छु !



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन संसदमा अनुपस्थित राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू पार्टीको निर्णयअनुसार चल्ने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी उनले अन्य कारणबाट नभई अस्वस्थ भएर अस्पताल भर्ना भएको बताएका छन् । ‘पार्टीको निर्णय र संसदीय दलको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयप्रति मेरो सहमति रहेकाले त्यस विषयमा मेरो प्रतिबद्धता कायमै छ,’ विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यमा सुधार भएपछि आफूबारे उठेका प्रश्नबारे स्पष्ट पार्ने सांसद शाहीको भनाइ छ । ‘म अहिले उपचाररत छु । मेरो स्वास्थ्य क्रमिक रुपमा सुधार भएको महसुस गरेको छु । म थप स्वस्थ भएपछि मेरोबारेमा उठेका कयौँ प्रश्नको बारेमा स्पष्ट पार्नेछु,’ विज्ञप्तिमा उल्लेख छ । संसद जाने तयारी गरिरहँदा अचानक बिरामी भएको र भाइले अस्पताल ल्याएको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदान हुने कार्यसूची थियो । तर, सांसद शाही एकाएक बेपत्ता भए । पछि उनी चरक मेमोरियल अस्पतालको आईसीयूमा भेटिए । सांसद शाही अनुपस्थित हुँदा अविश्वास प्रस्ताव फेल हुने देखेपछि सभामुखले संसद बैठक नै स्थगित गरे ।

सभामुख नेत्रनाथ अधिकारी माओवादीबाट निर्वाचित हुन् । गण्डकी प्रदेशमा कांग्रेस, माओवादी र जसपाले अविश्वास प्रस्ताव ल्याएको छ । त्यसमा जनमोर्चाको समर्थन छ । अहिले पनि सांसद शाही सोही अस्पतालमा उपचाररत छन् । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार