
सरकारले जनता समाजवादी पार्टी नेपालको माग अनुसार केही मुद्दा फिर्ता लिएपछि पार्टी सरकारमा जाने वातावरण तयार भएको पार्टी वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् । जसपाको माग अनुसार मुद्दा फिर्ता लिएको कारण नै सरकारमा जाने वातावरण तयार भएको उनले बताएका हुन् । ‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ,’ उनले भने, ‘सरकारमा जाने नै हो तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ । सरकारले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा जसपा नेपालले धन्यवाद ज्ञापन गर्दछ । सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ ।’
तर सोही पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले भने आफूहरुले सरकारसँग पाँचवटा माग राखेको र सो माग पुरा भएपछि मात्र सत्तासमीकरणको बारेमा छलफल गर्ने बताए । मुद्दा फिर्ता, राजबन्दी रिहाइ, नागरिकताको विषय, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग पुरा भएपछि मात्र सरकारलाई समर्थन गर्ने कि नगर्ने विषयमा छलफल गर्ने उनले बताए ।
‘अहिले जति जनाको मुद्दा फिर्ता गरेको छ । त्यसका लागि सरकारलाई धन्यवाद । यो राम्रो सुरुवात हो, यसलाई जसपा नेपाल स्वागत गर्दछ तर अहिले नै सरकारलाई समर्थन गर्ने अवस्था रहेको छैन,’ उनले भने । उनले नेकपा एमालेसँग मात्र होइन, अन्य दलसँग पनि सत्ता सहकार्यको बारेमा अहिले कुनै कुरा नहुने बताए ।