
काठमान्डौ– वैदेशिक रोजगार विभागले कोरोना प्रभावित देशहरूमा श्रम स्वीकृति दिन बन्द गरेको छ । विभागकाअनुसार आठ भन्दा बढी देशहरूमा श्रम स्वीकृति बन्द गराइएको हो ।सर्वोच्च अदालतले सोमबार संयुक्त अरब इमिरेट्स , कुवेत, जापान, दक्षिण कोरिया, इटली, चीनमा जान रोक लगाउन आदेश दिएसँगै ती देश जाने श्रमिकलाई श्रम स्वीकृति दिन स्वतः रोकिएको विभागले जनाएको छ ।
सर्वोच्चले नपठाउनु भनेको देशमा मंगलबारबाट नै श्रम स्वीकृत रोकिन्छ, जीटुजी भएका देशमा त हामीले सोमबार नै रोकिसकेका थियौ वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले भने भने अन्य देशमा पनि के गर्ने भन्ने विषयमा छलफल गरेर निर्णय लिने उनले बताए । दाहालले तत्कालको लागि पूर्ण श्रम स्वीकृति रोक्न सक्ने संकेत गरेका छन् । हामीले पठाएर मात्रै भएन उताबाट फिर्ता आउने भनेपछि यस विषयमा हामीले उपयुक्त निर्णय लिनुपर्छ, दाहालले भने ।
वैदेशिक रोजगारीका लागि यूएई हुँदै बहराइन जान लागेका नेपालीलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै स्वदेश फिर्ता गराईएको थियो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेसँगै सरकारले पनि सतर्कता बढाएको छ । यसबीचमा सरकारले भ्रमण वर्ष २०२० लाई स्थगित गरेको छ भने सगरमाथा संवाद पनि नगर्ने निर्णय लिएको छ । विभिन्न देशहरूमा सिधा उडान नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेसंगै सरकारले विमानस्थलमा सतर्कता बढाएको एयरपोर्ट कन्ट्रोलले जनाएको छ ।