काठमाडौं, ललितपुर र भक्तपुरको सिडिओ कार्यालयमा अत्यावश्यकबाहेक काम बन्द



राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका हुन्।

पराजुलीका अनुसार ती अत्यावश्यक काम शान्ति-सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो। नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ-संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको पराजुलीले बताए। ‘भिडभाड हुने भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने देखियो, त्यसैले एक साताका लागि अत्यावश्यकबाहेकका काम बन्द गरिएको हो,’ पराजुलीले भने, ‘यसमा हामी तीन वटै जिल्लाका सिडिओ बसेर छलफल गरी निर्णयमा पुगेका हौं।’

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार