सरकारकाे आदेश पालना नै भएन, लकडाउन गर्नुपर्ने निष्कर्ष !



काठमाडौं । पछिल्लाे समय काेराेना भाइरसकाे दाेस्राे लहर बढिरहँदा पनि मानिसहरू सचेत नभएकाे भन्दै सरकारले थप कडा कदम चाल्ने तयारी गरिरहेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार अपरान्ह कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ब्रिफिङ गरेकाे छ । बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा काेराेना नियन्त्रण प्रयासबारे छलफल गर्न बैठक बसेकाे थियाे । उक्त बैठकमा कोरोनाको बढ्दाे जोखिम, यसमा भइरहेका प्रयासहरु तथा सरकारका पछिल्ला समस्याबारे ब्रिफिङ भएकाे बताइएकाे छ ।

उक्त ब्रिफिङ बैठककाे निष्कर्ष चाहिँ लकडाउन गर्नुपर्ने रहेकाे बताइएकाे छ । सरकारले यसअघि बैशाख ६ गते जारी गरेको आदेश उल्लंघन भइरहेमा र नागरिकहरू सचेत नभएमा लकडाउन गर्ने तयारी रहेकाे बताइएकाे छ ।सरकारले शहरी क्षेत्रका विद्यालयहरू बन्द गर्न भने पनि अझै कतिपय स्कुल तथा कलेजहरू खुलिरहेकै छन् । कतिपय परीक्षाहरू सञ्चालन भइरहेका छन् । सडकमा, बजारमा सबैतिर भीड उस्तै छ । जबकि सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्देशन दिएकाे थियाे । हुन त सरकारले नै उक्त नियम उल्लंघन गर्दै गरेकाे देखिन्छ । शनिबार नै पुनर्निर्मित धरहरा उद्घाटन गर्दा प्रधानमन्त्री नै भीडमा घेरिनुभएकाे थियाे ।

छिमेकी राष्ट्र भारतमा समेत काेराेनाकाे अवस्था भयावह बनिरहँदा त्यताबाट नेपाल भित्रनेहरूका कारण झन् जाेखिम बढिरहेकाे छ । नागरिकहरूकाे लापरवाही रोक्न काठमाडौं उपत्यका लगायत ठूला शहरमा ‘लकडाउन’ गर्न उपयुक्त हुने सुझाव सीसीएमसीले दिएकाे छ भने चिकित्सकहरूकाे सुझाव पनि उस्तै छ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार