ओलीले सुलीमा नै चढाएपनि नेकपा (एमाले) छाड्दैनौं : गोकर्ण बिस्ट



गुल्मी । माधव कुमार नेपाल समूहका नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीका नाममा आफ्नो समूहलाई सुलीमा नै चढाएपनि नेकपा (एमाले) पार्टी नछाड्ने बताएका छन् । शनिबार (आज) गृह जिल्ला गुल्मीको भुवाचिदीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका बिष्टले यस्तो बताएका हुन् ।

उनले भने, ‘सत्ता–शक्तिको अहंकारमा पार्टी अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउने गरी पार्टीको विधि र पद्धति उल्लंघन गर्दै कारबाहीको नाममा जुन खालको स्वच्छचारी व्यवहार देखाउनु भएको छ । त्यसबाट कति पनि विचलित नभई संघर्ष गर्ने र सुलीमा नै चढाए पनि हामीले पार्टी छाड्दैनौं ।’ उनले थप भनेका छन्, ‘ओलीले पार्टी एकताको पूरै झ्याल–ढोका बन्द गरेका छन् । बन्द ढोकाको बलेनी मै बसेर, त्यसमाथि पानी परोस्, रुझेरै भएपनि पार्टी एकताका लागि लडिरहनेछौं ।’

महाभारत कालमा पनि सन्की साशकले रामलाई १४ वर्ष वनबास पठाएको उल्लेख गर्दै रामलाई सत्यको जित हासिल गर्न १४ वर्ष लागेझै आफूहरुलाई पनि सत्यको जित हाँसिल गर्न केही समय लाग्ने उनको भनाइ छ । बहुमत सदस्यसहित ९औं अधिबेशनमा ओली प्यानलबाटै निर्वाचित ३ जना उपाध्यक्ष समेत माधव नेपाल समूहमा रहेको बताउदै ओली पक्षको एउटा सानो समूहले गठन गरेको महाधिवेशन आयोजक समिति, स्थायी कमिटी, कसैलाई सुम्पिएको जिम्मेवारी र हाटाइएको जिम्मेवारी मान्य नहुने उनले बताए ।

गुल्मिको हकमा साबिक एमालेकै नेतृत्वले जिल्लादेखि वडा तहसम्म बैठक बोलाउन र साबिकै कार्यकर्ताहरु समेट्न आफूले फोनमार्फत् पटक–पटक भनेपनि ओली समुहले धुर्कोटबाट समानन्तर कमिटी गठन गर्न सुरु गरेको उनको आरोप छ ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार