
सत्तारुढ नेकपा ९एमाले० अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ । सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा ९माओवादी केन्द्र० बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो ।
माओवादी केन्द्रसँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा नेता नेपाल र झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने र त्यसमा नेपाल पक्षका सांसदले मत दिन सक्ने अनुमानपछि अध्यक्ष ओली उक्त समूहप्रति कडा हुनुभएको थियो । दुवै पक्षबीच समूहगतरुपमा गत चैत २ गते पार्टीको कन्द्रीय कार्यालय धुम्रबाराहीमा छलफल भए पनि कुनै सहमति भएको थिएन ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिनको अघिल्लो दिन अध्यक्ष ओली र नेता नेपालबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भएको भेटवार्तापछि उहाँहरूले त्यहाँ उपस्थित सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिए पनि दुवै प्रफुल्लित मुद्रामा बाहिर निस्केका थिए । उनिहरूबीच एकाएक भएको भेटवार्ताको समाचार सङ्कलन गर्न त्यहाँ पुगेका राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यका प्रतिनिधिले आग्रह गर्दा पनि नेता नेपालले प्रतिक्रिया दिन मानेनन् भने सुरक्षाकर्मीको घेराका कारण प्रधानमन्त्री ओली निस्कँदा पत्रकार उनि नजिक पुग्न सकेका थिएनन् ।
कान्तिपुरका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा भने नेपालले पार्टी जोगाउन ओलीसँग अनुरोध गरे ।
छलफलमा सुरुको एक घण्टा ओलीमात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेता नेपालले निकटस्थहरूलाई ब्रिफिङ गरेका छन् । ‘उहाँले एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूमिदेखि कुरा गर्नुभयो, त्यसपछि नेकपामा भएका गतिविधि, एकअर्कालाई गरेको कारबाहीका सबै कुरा उठाउनुभयो,’ नेपालले आफूनिकट नेताहरूलाई भने, ‘मैले उहाँका कमजोरीबारे बताएँ, एकताका लागि पहल गर्नुस् भनें । कुनै ठोस प्रस्ताव आएन, अर्को पटक फेरि बस्ने भनेर उठ्यौं ।’ नेता नेपालले २०७५ जेठ ३ अघिको अवस्थाबाट पार्टीलाई फुटबाट जोगाउन सम्भव हुने बताएका थिए । जवाफमा ओलीले नयाँ परिस्थितिमा एमाले निकै अगाडि बढिसकेको बताएका थिए ।
‘नेकपामा आफ्नो बहुमत हुँदा तपाईंहरूले मलाई चार पटक कारबाही गर्नुभयो, पार्टीको साधारण सदस्यबाट समेत निकाल्नुभयो, म भुइँमा पछारिएको मान्छे, धूलो टकटक्याउँदै उठें,’ ओलीको जवाफ उद्धृत गर्दै उनीनिकट स्रोतले कान्तिपुरलाई भन्यो, ‘निर्णयहरू यथावत् छन्, गुटगत वार्ता भन्दा पनि आउने १० गतेको बैठकमा सहभागी हुन आउनुस् म आग्रह गर्छु, त्यहीं छलफल गरौं ।’ उनीहरू दुई घण्टा सँगै बसे पनि आपसी गुनासोमै समय बिताएको सम्बद्ध स्रोतहरूको भनाइ छ ।