माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एमालेमा प्रवेश, माओवादीलाई लाग्यो झड्का



काठमाडौ । सर्लाही निवासी नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य केशवप्रसाद ढुंगाना नेकपा एमालेमै फर्किएका छन्। नेकपामा प्रदेश कमिटी सदस्य रहेका ढुंगाना सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग गराएपछि एमालेको खनाल–नेपाल समूहमा प्रवेश गरेका हुन्। एमालेका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले आफ्ना राजनीतिक गुरु ढुंगाना आफ्नो पुरानै मूल घरमा फर्किएको बताए।

‘म उहाँले नै उत्पादन गरेको कार्यकर्ता हुँ,’ मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै अध्यक्ष पन्तले भने, ‘विविध कारण उहाँ अर्कै कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको थियो। बीचमा एमाले र माओवादी केन्द्र एकता भई नेकपा बनेपछि फेरि सँगै भएका थियौं। तर अहिले अदालतले फेरि दुई पार्टी छुट्याइदिएपछि उहाँ हामी (एमाले) सँगै आउनुभएको छ।’

अध्यक्ष पन्तका अनुसार सर्लाहीको बागमती नगरपालिका कर्मैया निवासी ढुंगाना नेकपा माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य थिए भने यसअघि नेकपामा प्रदेश कमिटी सदस्य थिए।
एमालेमै फर्किएपछि नेता ढुंगानाले भने, ‘म आजबाट आफैंले बनाएको घरमा फर्किएँ। आजसम्म मलाई आश्रय दिई ससम्मान व्यवहार प्रदर्शन गर्नुहुने सबै कमरेडहरूप्रति आभार प्रकट गर्दछु। धन्यवाद।’

नेकपा एमालेका सर्लाही जिल्ला सदस्य चूडामणि वाग्लेले नेता ढुंगानाको निर्णयले आफूहरूजस्ता धेरै कार्यकर्तामा उत्साह छाएको बताए। उनले भने, ‘उहाँको अभिभावकत्व पाउँदा गर्व लागेको छ।’

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार