
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। ओली भारतको टाङमुनि छिरेको आरोप देउवाको छ। उनले यो कुरा देउवाले आज नेविसंघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंको बालमिकी क्याम्पसमा नेविसंघ केन्द्रीय समितिले गरेको कार्यक्रममा भनेका हुन्।
राष्ट्रवादी बनेर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि छिरेको देउवाको आरोप छ। ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको तुमशरणम् भइसक्यो,’ देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद? त्यसकारण यिनीहरू राष्ट्रवादी होइनन्, अवसरवादी हुन्।’
ओली सरकार अहिले पनि बहुमतमा रहेको देउवाले बताए । नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगरेको उनको भनाइ छ। ‘प्रचण्डले समर्थन फिर्ता लिएका छैनन्। ओलीलाई जसपाले साथ दिन खोजिरहेको छ,’ उनले भने। आफूले ओली सरकार हटाउन खोजेको उनले बताए। कोरोना महामारीबीच पार्टीको महाधिवेशन गर्ने चुनौती रहेको देउवाको भनाइ थियो।