
काठमाडौं । रंग पत्रकार प्रकाश सुबेदीले एपीवान टेलिभिजनमा सञ्चालन गर्ने दुई विवादित मनोरञ्जनात्मक कार्यक्रम निलम्बनमा परेका छन् । नायिका शिल्पा पोखरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै उक्त कार्यक्रमका विरुद्ध टेलिभिजनमा उजुरी दिएकी थिइन् ।
टेलिभिजन स्रोतका अनुसार गत २ वैशाखमा बसेको एपीवान टिभीको बोर्ड वैठकले शिल्पाका विषयमा थप सामग्री नबनाउन सुबेदीलाई निर्देशन दिएको थियो । तर, त्यसको अटेर गरी सुबेदीले आफ्नो कार्यक्रममा शिल्पाका पूर्वपति छवि ओझाको अन्तरवार्ता लिएर शिल्पाको थप चरित्रहत्या प्रयास गरेका थिए ।टिभी स्रोतले भन्यो, ‘२ गतेको बोर्ड वैठकले शिल्पाको अन्तरवार्ताबाहेक उनको विषयमा अरु खालका सामग्री प्रशारण नगर्न भनेको थियो, जसलाई उहाँले अटेर गर्नुभयो ।’
सुबेदीले शिल्पाका विरुद्ध अर्को कार्यक्रम पनि बनाएपछि ५ गते वसेको अर्को वैठकले वाध्य भएर कार्यक्रम निलम्बन गरेको स्रोतको भनाइ छ । अर्को निर्णय नभएसम्मका लागि कार्यक्रम बन्द गर्ने टेलिभिजन बोर्डले निर्णय लिएको हो । टीभी बोर्डको निर्णयपछि सुबेदीले सञ्चालन गर्ने ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द भएका छन् । शिल्पाले सो निर्णयका लागि टेलिभिजनलाई धन्यवाद दिएकी छन् । सुबेदीले आफ्नो कार्यक्रमका एक विवाहित पुरुषसँग शिल्पाको नाम जोडेर सामग्री बनाएका थिए ।