सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक



काठमाडौं । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

खुलेको ३ महिनापछि फेरि सिनेमा हल बन्द
नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गर्यो । जसमा, चलचित्र हलहरु समेत परेका छन् । गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि, हलहरु संचालनमा आएका थिए । तर, चलचित्र हेर्न भने दर्शकको उपस्थिती हलमा न्यून थियो । तर, हल संचालनमा आएको ३ महिनापछि फेरि बन्द भएका छन् । शहरी क्षेत्रका चलचित्र भवनहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

शहरी क्षेत्रमा कोभिडको जोखिम बढेको भन्दै आज बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय, चलचित्र भवन, रात्रीकालिन व्यवसाय लगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।हल खुलेको ३ महिनासम्म केही नयाँ विदेशी र नेपाली चलचित्र रिलिज भएका थिए । तर, चलचित्र भवनमा दर्शकको उपस्थिती न्यून देखिएको थियो । वैशाख मसान्तसम्म चलचित्र भवनहरु बन्द भएपछि चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ भन्ने अनुमान लगाउन नसकिने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार