मन्त्रिपरिषद हेरफेर, नवराज सिलवाललाई गृहमन्त्री बनाउने तयारी !



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको हेरफेरको तयारी गरेका छन् । लामो समयदेखि मन्त्रालय सम्हालेका केही मन्त्रीहरुलाई हटाएर नयाँ अनुहारलाई मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको नेकपा एमाले निकट स्रोतको भनाई छ ।प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित केही मन्त्रीहरुलाई हटाउन लागेको स्रोतको भनाई छ । बादलको सट्टामा एमालेबाट प्रत्यक्ष निर्वाचन जितेका नवराज सिलवाललाई गृहको जिम्मेवारी दिने तयारी गरिएको स्रोतको दावी छ ।

नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका बादलको राष्ट्रिय सदस्य खोस्नको लागि माओवादीले राष्ट्रियसभा सचिवालयमा पत्राचार गरेको छ । त्यसअर्थमा यदी ओली नेतृत्वको सरकार रहिरहेको खण्डमा बादल ६ महिनाको लागि मात्रै गृहको जिम्मेवारीमा हुनेछन् । ओलीले बादललाई संगठन बिस्तारमा खटाएर उनको सट्टामा सिलवाललाई ल्याउन लागिएको स्रोतको भनाई छ ।

नवराज सिलवाल राजनीतिज्ञ हुन् । उनी नेपाल पुलिसका पूर्व डीआईजी थिए र ललितपुर -क्षेत्र नं १बाट निर्वाचित प्रतिनिधि सभा का सदस्यको रूपमा सेवा गरिरहेका छन्। पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कारबाही गरेका नेताहरुलाई हटाउन ओली लागिपरेका हुन् । ओलीले बादललाई एमालेको बाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन् । नेपाल प्रहरीको पूर्व डीआईजी सिलवाल २०७४ को असार तेस्रो साता नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेका अध्यक्ष ओलीले सिलवाललाई राजधानीमा भएको एक कार्यक्रमकाबीच टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार