गुडविल सहकारीका बचतकर्ताको ८० करोड हिनामिना, ज्वाइँको धन्दाले ससुरा पनि फन्दामा, पैसा जति सबै मिटर ब्याजमा



ललितपुरको भैँसेपाटीका देवीप्रसाद आचार्य ४८ हजार रुपैयाँ निकाल्न गुडविल बचत तथा ऋण सहकारी संस्थामा पुगे। छोरालाई इन्जिनियरिङ कलेजमा भर्ना गर्ने रकम निकाल्न पुगेका उनलाई सहकारीका उपाध्यक्ष दीपेन्द्र कोइरालाले भने, ‘अध्यक्षज्यू सम्पर्कमा हुनुहुन्न, अहिले हामी तपाईंको रकम दिन सक्दैनौँ। तपाईंको पैसा पछि मिलाउँछौं पर्खिनुस्।’ कुरा चैत ५ गतेको हो। कुमारीपाटीस्थित सहकारीको कार्यालयमा कर्मचारी थिएनन्। देवीप्रसादले उपाध्यक्ष दीपेन्द्रसँग चिनजानकै कारण उक्त सहकारीमा रकम जम्मा गर्न थालेका थिए। त्यसपछि देवीप्रसादले नगरपालिकाको सहकारी शाखामा गएर बुझे। सहकारीका कर्मचारीले उजुरी दर्ता गरिराख्न सुझाव दिए।

‘अध्यक्षज्यू भाग्नु भएको रहेछ। उजुरी दर्ता गरिराख्नुस्। पछि मिलापत्र होला या मुद्दा मामिलामा जाला, तपाईंको आधिकारिक रिपोर्ट चाहिन्छ,’ नगरपालिकाका कर्मचारीले देवीप्रसादलाई भने। एसीमोडमा कपडा पसल सञ्चालन गर्ने एक महिलाले चार महिनापहिले नै सहकारीबाट रकम निकाल्न खोजेकी थिइन्। तर चिनजानकै कर्मचारीले भनिन्, ‘सहकारी नाफामा छ, अहिले ननिकाल्नू।’

त्यसपछि उनले रकम निकालिनन्। तर, अहिले आएर सो सहकारीले उनीसहित अन्य कयौँको रकम हिनामिना गरेको छ। सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ फरार भएको गाइँगुइँ धेरै बचतकर्ताले सुनिसकेका थिए। चैत १० गते ललितपुर प्रहरी परिसरमा पुगेर तीन जनाले जाहेरी दर्ता गरे। देवीप्रसादसहित अरु ८ जना २ दिनपछि जाहेरी लिएर पुगे। १२ गते थप ८ जनाको जाहेरी दिवाकरविरुद्ध दर्ता भयो। उनीहरुको मात्रै ५ करोड ३१ लाख ६८ हजार २ सय १६ रुपैयाँ सहकारीमा डुबेको छ। अरु बचतकर्ताको १७ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ सहकारीमा जम्मा गरेको पाइएको ललितपुर परिसरले जनाएको छ।

संस्थाको अरु ६२ करोड रुपैयाँ ठगिएको जाहेरी परिसरमा परेको छ। जाहेरी परेको ११ दिनपछि प्रहरीले दिवाकरलाई पक्राउ गरेको छ। चैत २१ गते उनलाई भरतपुर नगरपालिका १० मा प्रहरीले पक्राउ गर्‍यो र ललितपुर ल्यायो। त्यसको भोलिपल्ट चैत २२ गते सहकारीका सबै सञ्चालक पक्राउ परे। उपाध्यक्ष दीपेन्द्र कोइराला, कोषाध्यक्ष सपना खड्का, सचिव विशाल केसी, सदस्यहरु किसन गणेश श्रेष्ठ, गोविन्द महर्जन, विवेक खड्गी, मतिमान महर्जन र डम्बरबहादुर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।

तर ठगीमा दिवाकरको मात्रै संलग्नता देखिएको अनुसन्धान अधिकृत बताउँछन्। बचतकर्ताको रकम सीधै दिवाकरको खातामा जम्मा भएको छ। सहकारीको रसिद प्रयोग गरेर उनले रकम ठगेका छन्। सहकारीका सञ्चालक समितिमा सबै उनकै मान्छे छन्। सहकारीका सदस्य गोविन्द महर्जन दिवाकरका ससुरा हुन्। तर दिवाकरले कसरी ठगे भन्ने उनलाई थाहा छैन। तर ज्वाइँकै गलत धन्दाका कारण उनी फन्दामा परेका छन्। अहिले ससुरा–ज्वाइँ दुवै ललितपुर प्रहरी परिसरको हिरासतमा छन्।

सपना खड्का पनि उनकै घरमा १२ वर्षदेखि काम गरिरहेकी छन्। उनी पनि सहकारीको सञ्चालक समितिमा छिन्। दिवाकरले बचतकर्ताको रकम कसरी हिनामिना गरे भन्ने सपनालाई पनि थाहा छैन। अनुसन्धान अधिकृत भन्छन्, ‘थप तथ्य पत्ता लाग्दै जाला तर दिवाकरले सहकारीबाट लगेको रकम मिटर ब्याजसम्म पुर्‍याएको देखिन्छ।’ -नेपाल खबरमा उजिर कार्कीले लेखेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार