
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’सँग हतियार हुनसक्ने भएकाले उसमाथि निगरानी राख्नुपर्ने बताउनु भएको छ । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरिय सुरक्षा गोष्टिको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘विप्लव’ समुहले हतियार नबुझाएकाले खतरा हुनसक्ने औँल्याउनु भयो ।
यसअघि मुलुकमा सुरक्षा चुनौतिका रुपमा विप्लव र सीके राउत भएपनि पछिल्लो समय उनीहरु शान्तिपूर्ण राजनीतिमा आइसकेकाले सुरक्षा चुनौतिमा कमि आएको उहाँले स्पष्ट पार्नुभयो । यद्यपि सरकारसँग सम्झैता गरेको ‘विप्लव’ समुहले राज्यलाई हतियार नबुझाएकाले उसका गतिविधिलाई निगरानीमै राख्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विप्लव समूहसँग हतियार हुनसक्छ । उसले राज्यलाई हतियार बुझाएको छैन । उक्त समूहलाई निगरानीमै राख्नुपर्छ।’ मन्त्री थापाले संविधान मान्ने दलबाट पनि सुरक्षा खतरा हुनसक्ने भन्दै त्यस्लाई प्रशासनिक नियन्त्रणले मात्रै नपुग्ने भएकाले राजनीतिक तवरले पनि हल गर्नुपर्ने आवश्यकता रहेको दावी गर्नुभयो ।
सरकारको नेतृत्वमा रहेको पार्टीहरुबीच पनि पूर्ण रुपमा एकता नभएकाले कुनैपनि बेला सुरक्षा खतरा उत्पन्न हुनसक्ने उहाँले बताउनु भयो । पछिल्लो समय मुलुकको राजनीतिक अवस्था अत्यन्तै तरल रहेकाले त्यही अनुसार सुरक्षा नीति ल्याउन सके मात्रै त्यसको हल हुनसक्ने मन्त्री थापाको भनाइ थियो ।