चित्रबहादुर केसीको टिप्पणी- केपी ओली ‘कामरेड रहेनन्, दामरेड’ भइसके !



काठमाडौं | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नभएको टिप्पणी गरेका छन्। ओलीले भ्रष्टाचारीहरूको संरक्षण गर्ने तथा सत्ता र शक्तिका लागि जे पनि गर्ने गरेको केसीको भनाइ छ । ‘नेकपा एमालेको अध्यक्ष भएपनि केपी शर्मा ओली अब कामरेड रहेनन् उनी दामरेड भएका छन्’ नेपाल लाइभसँग कुरा गर्दै केसीले भने ‘भ्रष्टाचारीहरूको संरक्षण गर्ने, संविधानमाथि प्रहार गर्ने अनि अनैतिक रूपमा सत्तामै मात्र टिकिराख्ने ओलीले नीति लिएको देखियो।

उनी कम्युनिष्टको खोलमात्र ओडेर बसेका छन ।’ विगतमा ओली सरकारको सर्मथन गरेको तर, आफूहरूले उनको गलत प्रवृत्ति देखेपछि फिर्ता लिएको केसीले बताए। ‘दुई तिहाई बहुमत पाएको सरकारले देशलाई डमाडोल परोको छ’, केसीले भने, ‘ २ वर्षको अवधि बाँकी हुँदा गरिएको प्रतिनिधि सभा विघटन प्रतिगमन नै हो ।’

ओलीले शक्तिको दुरुपयोग गरेको भन्दै उनलाई कुनै न कुनै रूपमा जनताले दण्ड दिनुपर्ने अवस्था सिर्जना भएको केसीको भनाइ छ। ‘संसद्को क्रियाकलाप बदर गरेपछि पनि विजय प्राप्त गरेझैं मध्यावधीमा लैजाने काम ओली अहिले गरिरहेका छन’ अध्यक्ष केसीले भने ‘एकथरी पैसा खर्च गरेर आए फेरि पनि गर्न सक्लान तर देश हरेक वर्ष निर्वाचनमा मात्र जाने हो ? यसरी हरेक वर्ष चुनाव गर्न पैसा कहाँबाट आउँछ र ती सांसदले कसरी खर्च गर्छन ?’

प्रत्येक २ वा ३ वर्षमा गरिने निर्वाचनले देशलाई खाल्डोमा लाने र आर्थिक अराजकतातर्फ धकेल्ने केसीको टिप्पणी छ। सरकाले तीन वर्षका बीचमा धेरै काम गरेको तर, आलोचकहरूले नदेखेको भन्ने प्रधानमन्त्रीको भनाइलाई केसीले बेतुकको टिप्पणी केसीले गरे । ‘प्रधानमन्त्री ओलीले सरकारले असाधारण काम गर्‍यो भनेको सुनेँ। पाँच वर्षको अवधि २ वर्ष बाँकी छँदै संसद् विघटन गरेर अहिले सत्तामा झुन्डिएका छन’ केसीले भने ‘यही काम हो नि भ्रष्टाचार नियन्त्रण गर्नु छैन । नारामा सुशासन भने भइहाल्यो ।’

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भनेपछि ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा नहटेर अनैतिक रूपमा सत्तामा टाँसिएको केसीको आरोप छ। ‘आफूले गरेको काम सर्वोच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा छोड्नुपर्नेमा अझै शक्तिशाली झैं सत्तामा टाँसिएर बसेका छन’, केसीको प्रश्न छ, ‘यसरी नैतिकता नै नभएको मानिस कसरी कम्युनिष्ट हुन सक्छ ?’

उनले अब केन्द्र र प्रदेशमा आफूहरू ओलीविपक्षी मोर्चामा खडा हुने बताए। जनमोर्चाको प्रतिनिधि सभामा एक सिट रहेको छ । प्युठानबाट निर्वाचित सांसद दुर्गा पौडेल स्वतन्त्र रूपमा रहेकी छन । उता गण्डकी प्रदेशमा पनि ओलीपक्षीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निरन्तरता वा विस्थापन भन्नेमा जनमोर्चा नै निर्णायक देखिएको छ । आइतबार बसेको जनमोर्चाको गण्डकी प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध लाग्ने वा उनलाई साथ दिने भन्ने विषयमा केन्द्रको निर्देशनअनुसार अघि बढ्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार