हरिद्वारमा लक्ष्मीप्रसाद देवकोटालाई सम्झिँदै पूर्वराजाले भने– हामीले आफ्नो धर्म बचाउनु छ (सम्बोधनको पूर्णपाठ)



यो विशाल, यो पुण्य कार्य कृत्य र यो पवित्र धार्मिक सनातनिक एवं सांस्कृतिक समारोहका आयोजक, यहाँ पाल्नुभएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि मनिषी एवं समस्त सन्त, महन्त, साधकहरु। म सबैलाई नमन गर्दछु, दुई कर जोडी बन्दन गर्दछु। गंगा तटमा अवस्थित यो पवित्र धाम, यो देवस्थल हरिद्वारको यो विशेष पुण्य कार्य र यो विशाल समारोहमा म यहाँहरुको निकटमा रही दर्शन, अर्चन, बन्दमा सरिक छु। यहाँहरुको श्रद्धायुक्त आमन्त्रण पाएर उपस्थित छु। यस निम्ति म गौरवान्वित छु। यहाँहरु सबैप्रति साधुवाद !

हाम्रा वेद र शास्त्रहरुको मत र मान्यता मुताविक मैले सुने बुझेअनुसार कुम्भघाट अमृत तत्वले भरिपूर्ण घाट हो। सत्य युगमा समुन्द्र मन्थनबाट उत्पन्न अमृतका घडाहरु पहिले दानवहरुद्वारा लुटिएका थिए। ती घडाहरु पछि गरुडद्वारा खोजी गरी ल्याइएको र प्रयाग, हरिद्वार, नाशिक आवन्तिक स्थानहरुमा खडा गरिएको थियो।

सोही परम्पराअनुसार हरेक १२ वर्षमा लाग्ने कुम्भ मेलाको विशिष्ट महत्व रहन गएको देखिन्छ। अमृतका तिनै कुम्भ घडाहरुबाट थोपा थोपा गरी विभिन्न नद नदीमा प्रवाहित भएकाले नै पूर्वीय दर्शनमा हाम्रा नद नदीहरुको, हाम्रा पर्वतीय घाटीहरुको तथा विभिन्न वन वाटिकाहरुको धार्मिक र शास्त्रीय महत्व रहन गएको हो। प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनुराग राखेर काम गरेको एक प्रकृति पूजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु।

जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइँदै लगिएको आजको प्रदूषणयुक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कुम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपूर्ण ढंगले बुझ्न सकिन्छ। हराभरा स्वच्छ प्रकृति, निर्मल नद नदी तथा ताल तलैया एवं समस्त वातावरणलाई प्रदूषणमुक्त बनाउने आजको विश्वव्यापी अभियानमा कुम्भ मेला जस्ता हाम्रा धार्मिक अनुष्ठान सर्वथा उपयोगी र प्ररेणादायी हुन्छन् भन्ने मेरो दृष्टिकोण छ।

भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भूखण्ड– हाम्रा यी हिम श्रंखला, हाम्रा यी अनेकौं नद नदीको महत्व महान छ । हजारौं वर्षअघि देखिएको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा र सनातनिक संस्कृति विश्वमै बेजोेड छ । हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकांैं ग्रन्थ शास्त्र सबै नै महत्वपूर्ण छन्। तिनको मननीय स्थान, हाम्रा विधि व्वहहार जीवन पद्धति, आचरण र अनुशीलन आफैंमा गहन छन् ।

नेपाल र भारतका कैयन् देवस्थलहरु, धामहरु एवं अनेकाै‌ स्थानहरु यस्ता छन्– जसले सदैव सर्वे भवन्तु सुखिनको विश्वव्यायी मान्यता राख्छन्। हामी कतिले र अरु कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरुलाई तथा हाम्रा अनेकौं रितिस्थितिलाई के कति बुझ्छन् कुन्नि, तर सारभूत रुपमा भन्नुपर्दा हाम्रो धर्म, सभ्यता, संस्कृतिको अनेक आदर्शहरु विश्वकै मानवीय मूल्यलाई डोर्याउँछन्।

सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिएँ। बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरा उहाँले उक्त निबन्धमा लेख्नुभएको थियो। हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूवीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो।

अब हामीले हाम्रो धर्म बचाउनु छ। हाम्रो संस्कृतिको रक्षा गर्नु छ। हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ। हाम्रा गंगा, नद नदीहरुको प्रवाह स्वच्च पार्नु छ। भगवान रामले भन्नुभएको थियो– अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचती जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी। या् सद्युक्तिको हामीले ख्याल गर्नैपर्छ। यिनै प्रयोजन हेतु यो महाकुम्भ मेलाको यो विशाल मेलाको र यहाँ उपस्थित सबै विद्धान, विदुषी, सन्त र महातमाहरुको ध्यान पुगोस्। यही अवधारण छ मेरो। फेरि पनि सबैमा साधुवाद। धन्यवाद।

(महाकुम्भ मेला हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार गरेको सम्बोधन)

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार