विद्यालय स्तरको फाइनल परिक्षाका बारेमा सरकारले दियो यस्तो निर्देशन



काठमाडौ । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताए । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उनले दिए ।

कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुनसक्ने सम्भावनासमेत रहेको भन्दै उनले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफलसमेत नभएको जानकारी दिए । यसमा स्थानीय तहहरूले पनि विद्यालयलाई सचेत गराउनुपर्ने र आवश्यकताअनुसार अनुगमनसमेत गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्न सक्ने भनेका थिए । स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनीसमेत उनले दिएका थिए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार