इपिएस पासलाई लिन काेरियाकाे आनाकानी , ग्रिन जोनमा परेपछि मात्रै लिन सक्ने



नेपाल सरकारको तर्फबाट कोरियामा नेपाली श्रमिक पठाउन पटक–पटक प्रस्ताव राखे पनि कोरिया सरकार इच्छुक नभएका कारण प्रक्रिया पुरा गरेर काेरिया जान तयारीमा रहेकालाई पठाउन नसकेको सरकारी अधिकारीहरुले स्विकार्न थालेका छन।नेपाल स्थित कोरियाली राजदूतावासका प्रतिनिधिसँग नेपाली कामदार पठाउन विभिन्न चरणमा वार्ता भइसकेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ।कोरियामा र नेपालमा कोरोना संक्रमण बढिरहेकाले पनि तत्कालै नेपाली कामदार लान नसकिने दूतावासका प्रतिनिधिले बताउँदै आएको (इपिएस) शाखाका प्रमुख इन्द्र गौतमले बताए। उनका अनुसार कोरियाले नेपाललाई ‘रेड जोन’ र ‘यल्लो जोन’मा राखेको छ। अप्रिल १ देखि ‘यल्लो जोन’ मा राखेको हो। ‘ग्रिन जोन’मा राख्न थालेपछि मात्र नेपाली कामदार जान पाउने छन्।

उनले भने,’ मन्त्रालयमा दूतावासका प्रतिनिधिसँग वार्ता पनि भएको थियो। उनीहरूले भनेका छन, तत्कालै कामदार लाने अवस्था छैन। कोरिया जाने कामदारको कोटा नगुम्ने र कोरोनाकै कारण केही ढिलाइ भएको हो।’कोरियाली प्रतिनिधिले नेपालमा देखिएको कोरोना ‘ग्रिन सिग्नल’ मा झरेपछि नेपाली कामदार लान सुरु गरिने आश्वासन दिएको गौतमले जानकारी दिए। कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयले अनुमति दिएपछि मात्र कामदार लाने प्रक्रिया बढ्नेछ।

‘हामीले कोरियामा नेपाली श्रमिक पठाउन पटक–पटक प्रस्ताव गरिरहेका छौँ। कोरियाले विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ। नेपालसहित अन्य मुलुकहरूबाट पनि श्रमिक लैजान कोरियाले रोक लगाएको छ।’ इपिएस शाखाका निर्देशक गौतम भन्छन्, ‘अहिले १२ वटा मुलुकलाई पूर्ण रुपमा रोक लगाएको छ।नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकाले कामदार लान अनिच्छुक छ, पारिवारिक र विद्यार्थी भिसा मात्र उपलब्ध गराउँदै आएको छ।’उनका अनुसार नियमित र ‘कमिटेड’ गरेर ७ हजार ४ सय कामदारहरू जान पाएका छैनन्। ‘कोरियाबाट विदामा आएर जान नपाएका ३ हजार कमिटेडहरू कोरिया जान पाएका छैनन्,’ गौतम भन्छन्,’ लेबर कन्ट्रयाक्ट भइसकेकाहरूको हकमा कुनै कम्पनीले रद्द गर्‍यो भने पनि १ वर्ष म्याद हुन्छ। सबैको रोजगार सुनिश्चित हुन्छ।’ मुख्य कुरा नेपालमा कोरोनाको अवस्था कस्तो रहन्छ त्यसमा निर्भर रहने उनले प्रस्ट पारे

कोरियामा हाल ३१ हजार नेपाली कामदार रहेको गौतमले जानकारी दिए। कृषि र उद्योगको क्षेत्रमा मात्र नेपाली कामदार लाने गरिएको छ। ट्रायलका लागि कम्बोडियाबाट रेगुलर र कमिटेड कामदार लगिरहेको उनले बताए। पछिल्लो समय थाइल्याण्ड, भियतनाम र श्रीलंकाबाट कामदार लगेको हो।भाषा परीक्षा लिन दुवै देशबीच छलफल चलिरहेको छ, ‘गौतमले भने, ‘मिति तय भइसकेको छैन। अब लिने परीक्षा विगतको जस्तो पेपरमा हुने छैन।’ अनलाइन माध्यमबाट परीक्षा लिने र ट्याबको प्रयोग गरेर परीक्षा हुने उनले जानकारी दिए। परीक्षाको सम्पूर्ण सामग्री कोरिया सरकारले उपलब्ध गराउने उनले सुनाए।एकपटकमा २ सय भाषा परीक्षार्थीको परीक्षा लिने गरी तयारी भइरहेको गौतम बताउँछन्। दुवै देशले परीक्षा गर्न सफ्टवेयर निर्माण गरिरहेको उनले बताए। भैँसेपाटीस्थित आफ्नै भवनमा परीक्षा लिन सकिन्छ। थाहा खबर

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार