माओवादी केन्द्रले गर्‍यो चार मन्त्रीलाई कारबाही,बादल किन कारबाहीमा परेनन् ?



काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गरेको निर्णय संघीय संसद् सचिवालयमा बुझाएको छ । आज माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य रहेका मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद नरहेको जानकारी गराएको हो । राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भने कारबाही गरिएको छैन ।

माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जामन्त्री, भट्ट उद्योगमन्त्री, चौधरी श्रममन्त्री र साह सहरी विकासमन्त्री छन् । सत्तारुढ दल नेकपा विभाजित भएपछि माओवादी केन्द्र प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छ । तर, सोही पार्टीका सांसद हुँदै मन्त्री बनेकाहरुले ओलीलाई साथ दिएपछि कारबाही गरिएको हो ।

माओवादीले चारजना सांसदमाथि कारबाही गरेपनि गृहमन्त्री रामबहादुर थापा बादलमाथि कारबाही गरेको छैन । बादल माओवादी केन्द्र छाडी नेकपा एमालेमा बागमती प्रदेश कमिटीका संयोजक पदमा छन् । उनी राष्ट्रिय सभा सांसद पनि हुन् । माओवादी केन्द्रका तर्फबाट सांसद बनेका बादलमाथि कारबाही नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

कारबाहीको पत्रमा बादलको नाम नरहेपछि धेरैको चासो बढेको छ । उनी कतै माओवादी केन्द्रमै फर्कने सम्भावना त होइन ? तर, बादलले प्रचण्डको चर्को आलोचना गर्दै आएका छन् । उनको फर्कने सम्भावना कम छ । बादललाई अर्को चरणमा कारबाही गर्ने सम्भावना पनि रहेको बुझिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार