नेकपा एमाले केपी शर्मा ओली समूहका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिन चुनौती दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले विश्वासको मत दिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गराएकालाई विश्वासको मत फिर्ता लिन चुनौती दिएका हुन्।
सरकार कामचलाउ भएको भन्ने टिप्पणीमा धारणा राख्दै उनले समर्थन फिर्ता भएपछि नयाँ ढंगले राजनीति प्रक्रिया अघि बढ्ने तर्क गरे। उनले समर्थन फिर्ता नलिएर ‘आफैं अड्काउने, आफैं पड्काउने’ काम राजनीतिक दलहरूबाट भएको आरोप लगाए। उनले भने, ‘कसरी हुन्छ कामचलाउ सरकार ? सरकार गठन भएको जगभित्र के छ ? समर्थन आफू गर्ने, समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउनका लागि निम्ति कुनै एजेण्डा प्रस्तुत गर्न नसक्ने काम चलाउ भयो ? कसरी कामचलाउ भयो ?
विश्वासको मत प्रधानमन्त्री केपी ओलीलाई कसले दिएको हो हिजो ? फिर्ता लिनोस्। अर्को विषय सुरूआत हुन्छ होला नि त। बन्दी बनाएर हामी जान सक्तैनौं। आफैं अड्काउने, आफैं पड्काउने ? के गर्ने हो गर्नुहोस्। राजनीतिको मैदान खुला छ।’
वर्तमान सरकार काम चलाउन नभएको दाबी पनि उनले गरे। उनले विगतमा शेरबहादुर देउवाको नेतृत्वको सरकारको समयमा कामचलाउ सरकारको मन्त्रिमण्डलको झुण्डमा ‘लम्पट’ भएर बसेको आरोप पनि लगाए। कुनै एउटा दलले सत्ता कब्जा गरेको अवस्था नभई चेक एण्ड ब्यालेन्समा सरकार चलेको भन्दै उनले जनताको अभिमत लिनका लागि जनताबीच जान प्रधानमन्त्रीले चालेको कदम सही भएको दाबी गरे। जनताको बीचमा जाने कुरा अलोकतान्त्रिक नहुने भन्दै उनले अभिमतबाटै लोकप्रियता नाप्नुपर्ने तर्क गरे।
उनले भने, ‘जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ? द्वन्द्वकालमा निरंकुश राजासँग मिलेर शाही साम्यवाद ल्याउनका लागि गरेको वार्ता र छलफल चाहिँ अग्रगमन हो? प्रतिगमन यस्तै हुन्छ भने, विकास निर्माण, राष्ट्रियताको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरणका लागि जनताको बीचमा जाने कुरामा प्रतिगनम देखिन्छ भने यस्तो प्रतिगमन, विकासको प्रतिगमन, निर्माणको प्रतिगमन, जनताको बीचमा अभिमत लिन जाने प्रतिगमन यो देशका बारम्बार भइरहन्छ किनभने यहाँ लोकतन्त्र छ। मुलुकलाई निकास दिन नसक्ने हो भने ताजा जनादेशको कुनै विकल्प छैन। त्यसैले प्रधानमन्त्रीले वर्तमान अवस्थाको ठोस विश्लेषण गरेर संसद विघटन गर्नुभएको थियो।’
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ इंकित गर्दै चुनावदेखि डराउनेहरूले ताजा जनादेशका लागि निर्वाचनमा जाने प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भनेको टिप्पणी गरे। उनले भने, ‘चुनाव देख्नासाथ फोविया हुने साथीहरूले प्रतिगमन भो भन्ने ? त्यसो भए चुनावै गराउनु छैन भने, भोट माग्न नजाऊँ, चुनाव नगराऊँ, कस्तो लोकतन्त्र हो नयाँ बहस गरौं। क्रान्तिकारी लफजीभित्र कम्फर्टेबल मात्रै हो भने भन्नु केही छैन।’
उनले केपी ओली नेतृत्वको सरकार बन्नुअघि नेपालको राजनीति राजनीतिमा मात्रै केन्द्रिकृत भएको र विकास निर्माण, जनताको सेवा, राष्ट्रिय स्वाधिनता र स्वाभिमानका विषय सरकारको प्राथमिकता र राष्ट्रिय एजेण्डामा पर्ने नगरेको दाबी गरे। वर्तमान सरकारले विकास निर्माणलगायत जनताको खुसीका पूर्वाधार निर्माणको क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उनले जनताको खुसी नचाहने दलहरूले के चाहन्छन् ? भनी प्रश्न गरे।
वस्तुगत रूपमा नभई विरोधका लागि विरोध गर्ने परिपार्टीले राजनीतिको सही गन्तव्यमा पुग्न नसकिने तर्क उनले गरे। उनले भने, ‘यही कुरालाई माखुल उडाउन खोजिन्छ भने, यसप्रति पनि खुसी व्यक्त गर्न सकिँदैन भने नेपालका राजनीतिक पार्टीहरू के चाहन्छन् ? उनको विकासको एजेण्डा के हो ? उनको राजनीतिक मुद्दा के हुन् ? एजेण्डाविहीन नेतृत्वले मुलुकका निम्ति के योगदान गर्न सक्छ ?’
उनले सरकारले गरेका विकास निर्माण लगायत राम्रा कामहरू नदेख्नेलाई ‘कानमा कपास राख्न र आँखामा साउने चस्मा लगाउन’ सुझाव दिए। उनले भने, ‘१ सय ६५ वटा बाटा बनाउने भयौं। के भनेर चुनावमा जान्छौं हामी ? के भनेर भोट मागेका थियौं हामीले ? आफ्नो क्षेत्रमा के कुरा गरेका थियौं ? यसमा पनि निराशा छ भने दुखी आत्माहरूप्रति म खेद मात्रै प्रकट गर्न सक्छु। मृत सपनाहरू बोकेर आशावादको नेतृत्व गर्न सकिँदैन सभामुख महोदय। कसैकसैलाई यस्तो हुन्छ। विध्वंश नै विकास देख्नेहरू। तर विकासको पनि एजेण्डा देख्ने साथीहरूमा पनि विचित्रलाई के लागेको छ भने त्यही बोलीमा लोली मिलाएर केही पनि भएन भन्नुहुन्छ। धरहरा बनेन ? केही पनि देख्न हेर्न सुन्न सकिन्न भने एउटा मेरो विनम्रतापूर्वक सुझाव छ- कानमा कपास राख्ने, आँखामा साउने चस्मा लगाउने।’