ओलीसँग सम्बन्ध सुधार्ने कसरतमा उपेन्द्र यादव !



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि नगर्ने विषयले खैलाबैला सिर्जना भइरहेको छ । जसपाका अध्यक्ष महन्थ ठाकूर समूह ओली सरकारलाई समर्थन गर्नुपर्ने अडिगमा रहेको बेला डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूह प्रचण्डलाई समर्थन गरेर नयाँ सरकार गठन गर्नुपर्नेमा अडान लिँदै आएका छन् । जसपा भित्रको किचलो मिलाउन नसकेर माओवादी केन्द्रले समेत ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन ।

महन्थ ठाकुरलाई सहमतिमा ल्याउन प्रचण्डले धेरै कोशिश गरे, तर सफल हुन नसकेपछि डा. बाबुराम भट्टराईमार्फत उपेन्द्र यादवलाई यो काम सुम्पिएका थिए । उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोलाई प्रचण्डलाई साथ दिन सम्झाउने कोशिशा गरेका छन् । तर, उल्टै महन्थले उपेन्द्रको सोचमा परिवर्तन ल्याइदिएका जसपाका नेताले जानकारी दिए । ती नेताकाअनुसार अहिले उपेन्द्र यादव केपी शर्मा ओलीलाई रिझाउने र सम्बन्ध बनाउने कसरतमा लागेका छन् । दुई शीर्षनेताको भेटमा उपेन्द्र यादवले महन्थ ठाकुरलाई ओलीसरकार ढाल्न प्रचण्डलाई समर्थन गरुम् कि नयाँ गठन हुने सरकारमा आफ्नो दबदबा देखाउँ भन्दै प्रस्ताव गरेका थिए ।

नेता ठाकुर र राजेन्द्र महतोले उपेन्द्र यादवको कुरा सुनेपछि उनलाई सुझाव दिँदै भने, ‘प्रचण्डको भर नपर्नुस्, ओलीको कुरा नसुने पनि देउवादेखि माधव नेपालको हविगत देख्नु भएको होला ।’ सुझाव सुनेपछि उपेन्द्र यादवले भने, ‘अब त्यस्तो हुँदैन बरु हामी सुरुवात मै लिखित सम्झौता गर्ने, त्यो गर्न प्रचण्ड तयार छन् । हामी मध्ये एकले सरकारमा राम्रो ठाउँ समेत पाउँछौ । महन्थ ठाकुरलाई प्रधानमन्त्री नै बनाउ समेत भन्नुभएको छ ।’

यो कुरा सुनेपछि महन्थ ठाकुरले मुस्काउँदै भने, “तपाई हामी भनेको मधेशी जनताले साथ दिएर मात्र अघि बढ्न सकेका छौँ । तर तपाइँ प्रचण्डको पछि लाग्न थाल्नुभयो भने न मधेशीले साथ देलान् न हाम्रो साथ पाउनुहोला । प्रचण्डले लिखित सहमति नै गरेका थिए ओलीसँग तर हेर्नुस के के हुँदैछ । अन्तिममा फेरि प्रचण्डसँगै मिलेर राजनीति गर्ने कि हामी संगै मिलेर गर्ने सोच्नुस् ।

“ महन्थ ठाकूरको भनाई सुनेपछि उपेन्द्र यादवले आफ्नो अडान छोडेर प्रधानमन्त्री ओलीलाई नै सहयोग गर्न तयार भएका छन् । यसपछि उपेन्द्र यादवले अहिले परशुराम बस्नेतमार्फत ओलीसँग सम्बन्ध सुधार्ने कोशिशमा लागेका छन् । परशुराम बस्नेतलाई दूत बनाएर प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधार्ने कसरतमा लागेका हुन् । परशुराम बस्नेतले उपेन्द्र यादवको सन्देश बालुवाटार पुर्याएका छन् तर ओलीले उपेन्द्रमाथि कत्तिको विश्वास गर्छन गर्दैनन् भन्ने कुनै जवाफ दिएका छैनन् ।

श्रोतका अनुसार उपेन्द्र यादवलाई प्रचण्डले नयाँ सरकार गठन गर्दा उपप्रधान तथा गृहमन्त्री बनाउने आश्वासन दिएका छन् । जसका कारण नेता यादव ओली विरुद्ध खनिएका थिए । तर अहिले प्रचण्डले सरकारको समर्थन फिर्ता लिन सक्ने कुनै अवस्था नदेखेपछि ओलीसंग सम्बन्ध सुधार्ने मूडमा पुगेका हुन् ।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार