महन्थ ठाकुर प्रधानमन्त्री बन्लान् ?



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेपाली राजनीतिमा ८० वर्ष कटेका थोरैमात्र प्रभावशाली नेतामध्ये एक हुन् । लामो समय नेपाली काँग्रेसको राजनीति गरेर मधेशीको अधिकारका लागि भन्दै पार्टी परित्याग गर्दा ठाकुरले गल्ती गरेको भन्नेहरु धेरै थिए । तर, राजनीति यस्तो मोडमा आइपुग्यो कि उनी नै मधेशी मूलबाट नेपालको प्रथम प्रधानमन्त्री बन्ने सम्भावना बोकेर देखापरेका छन् ।

ठाकुर चौंथो ठूलो दल जनता समाजवादी पार्टीका अध्यक्ष छन् । प्रतिनिधि सभामा ३३ सांसद रहेको जसपा निर्णायक शक्ति बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनी विरोधी दलका नेताहरु जसपालाई तानातान गर्दैछन् । जसपाले जसलाई समर्थन गर्छ उसैको सरकार बन्छ । प्रधानमन्त्री केपी शर्मा ओली जसपाको साथ लिएर सत्ता टिकाउन खोजिरहेका छन् । त्यसका लागि मधेशको मुद्दा सम्बोधन गर्ने देखि रेशम चौधरीलगायतलाई रिहाई गर्नेमा बालुवाटारले सकारात्मक सन्देश दिइसकेको छ । चौधरीको मुद्दालाई सत्ताको सौदावाजी बनाउन नहुने भन्दै जसपाभित्र एकाथरीले महन्थ ठाकुरलगायतको आलोचना गर्दै आएका छन् ।

ओलीइतरको सत्ता समिकरण बनाउन पनि जसपा नै निर्णायक शक्ति बनेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले जसपा तिरै ध्यान दिएको छ । तर, यसपटक जसपाले सरकारकै नेतृत्वको दाबी गरेको स्पष्ट भइसकेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले सत्ताभन्दा मुद्दा प्राथमिक भन्दै आएका छन् । तर, सत्तामा गएर मुद्दा सम्बोधनमा लाग्ने जसपाको ध्यान गएको देखिन्छ । विशेषगरी जसपा नेताहरु महन्थ ठाकुर र डा.बाबुराम भट्टराई प्रधानमन्त्रीका दाबेदार छन् । त्यसमा पनि ठाकुरको पल्लाभारी छ ।

ठाकुरको नाममा सहमति बन्न काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ अनिवार्य छ । देउवाबाट ठाकुरको पक्षमा ग्रिन सिग्नल मिलेको छैन । देउवा आफै प्रधानमन्त्रीको दौडमा छन् । उनी ठाकुरको साथ खोजिरहेका छन् । तर, ठाकुर आफै प्रधानमन्त्रीको दाबेदार बनेबाट समिकरण बन्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले आफूइतरको समिकरण बन्न लागेमा ठाकुरलाई साथ दिने सम्भावना पनि उत्तिकै छ । तर, ओलीसँग समिकरण बनाउन नहुने पक्षमा जसपाभित्र आवाज उठिरहेको छ । तर, ठाकुर पक्षधर जस्ले नेतृत्व गर्न साथ दिन्छ उसैको पक्षमा लाग्ने गरी खुल्ला छलफलमा अगाडि बढेको स्पष्ट छ । ओलीले साथ दिएपनि ठाकुरलाई प्रधानमन्त्री बन्न कठिन छ । नेकपा एमालेका एउटा पक्ष ओलीको समेत विरोधमा छ । उक्त पक्षले ओलीले निर्णय मानेर प्रधानमन्त्रीका लागि ठाकुरलाई मतदान गर्ने सम्भावना कम छ । त्यसैले पनि ठाकुर ओलीसँग भन्दा ओलीइतरसँग मिलेर सरकारको नेतृत्व गर्न पाइने आशामा देखिन्छन् ।

राजनीतिक घटनाक्रम यसरी बढ्दैछ कि सत्ता ढाल्ने र बनाउने खेलले चौंथो ठूलो शक्तिलाई सरकारको नेतृत्वमा पुर्याउने परिस्थिति बन्न सक्छ । त्यतिबेला राजनीतिमा लामो अनुभव सँगालेका ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । उमेर र अनुभवले पनि उनी अहिलेका राजनीतिक दलका नेताहरुको सर्वमान्य बन्न सक्छन् । तर, प्रधानमन्त्रीकै लागि उनलाई मान्न नेताहरु तयार हुने सम्भावना कम छ ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार