
भारतीय मिडियाले पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी खोल्न लागेको खुलासा गरेको छ । भारतीय मिडिया ‘द हिन्दु’ले माधव नेपालले नयाँ राजीनितिक पार्टी खोल्न लागेकबारे बुधबार समाचार प्रकाशन गरेको हो । समाचारमा उल्लेख भए अनुसार नेपालले मार्क्सवाद-लेननवादको विचारधारामा रहेर नयाँ पार्टी खोल्न लागेका हुन् । पार्टी खोल्नको मार्चको दोस्रो सातामा नै निर्णय भएको र तयारी स्वरुप प्रदेश प्रदेशमा काम सुरु भईसकेको दाबी गरिएको छ ।
एकता भई गठन भएको नेकपाबाट एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले अलग गरिदिएको थियो। एमाले पूर्ववत् अवस्थामा फर्किएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षलाई जानकारी नदिई पार्टिको बैठक बोलाएर आफुखुसी महत्वपूर्ण निर्णय गरेको नेपाल पक्षको आरोप छ । नेपाल पक्षले ति निर्णय फिर्ता हुनु पर्ने अडान राख्दै आएको छ भने ओलीले भएको निर्णय फिर्ता नहुने बताउदै आएका छन् ।
ओलीले नेपाललाई पार्टीबाट ६ महिनाको लागि निलम्बन समेत गरिसकेका छन् । तर नेपालले भने कुनै एउटा गुटले आफुलाई निलम्बन गर्न नसक्ने दाबी गर्दै आएका छन् । द हिन्दुको समाचारमा उच्च स्रोतलाई उधृत गर्दै केपी ओलीलाई भरतले समेत समर्थन भएको देखिएको उल्लेख गरिएको छ । माधव नेपालले नयाँ पार्टी खोलेमा एमाले औपचारिक रुपमा फुट्ने छ ।