शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय !



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभर वायु प्रदूषण बढेपछि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले मन्त्रालयले उक्त निर्णयबारे प्रेस विज्ञप्ति जारी गर्ने तयारी भइरहेको जानकारी दिए।

अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए। वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकासहित देशभर गत शुक्रबारदेखि मौसम प्रतिकूल बनिरहेको छ।
धूवाँ, धूलाे मिश्रित तुवाँलाेले काठमाडाैंसहित देशैभरकाे आकाश धुम्म बनेकाे छ। सरकारले वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले माैसममा सुधार नभएसम्म घरबाहिर अत्यावश्यक कामबाहेक ननिस्कन भनेकाे छ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो।बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए ।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति थियो। बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए। लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार