संसदमा यसरी पुग्छ ओलीको बहुमत, तत्काल विश्वासको मत लिन नपर्ने !



काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई माओवादी केन्द्रले २०७५ सालमा दिएको समर्थन कायम रहेको भन्दै तत्काल विश्वासको मत लिन आवश्यक नरहेको बताएका छन् । उनले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने आशा पनि व्यक्त गरे । एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा बोल्दै ओलीले भने, ‘मलाई २०७४ सालको फागुन २७ गते माओवादी केन्द्रले दिएको समर्थन वापस भएको छैन ।

यो माओवादी केन्द्रले थाहा नपाएको कुरा पनि होइन । मैले फिर्ता गर्नुस वा नगर्नुस केही भनेको छैन । त्यसैले संयुक्त सरकारको हैसियत कायम छ ।’ माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलाएको विषयमा भने उनले आश्चर्य प्रकट गरे । ओलीले भने, ‘संविधानको धारा ७६ को उपधारा २ अनुसार समर्थनप्राप्त सरकार चलेको छ ।

त्यसैले न राजीनामा दिन आवश्यक छ, न विश्वासको मत आवश्यक छ । मलाई जरुरी नै छैन । ममाथि विश्वास छँदैछ त किन लिने रु’ कसैले समर्थन फिर्ता लियो भने आफूसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्प रहने ओलीले बताए । उनले थपे, ‘म कति पपुलर रहेछु भने मलाई सबैभन्दा मन नपराउनेले पनि ममाथिको समर्थन फिर्ता लिएको छैन । उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई प्रधानमन्त्री पदको अफर गरेको चर्चाका खण्डन गरे ।

ओलीले भने, ‘मैले उहाँलाई त्यस्तो अफर गरेको छैन र गर्दिनँ पनि । त्यो जनादेश विपरित हुन्छ । जनता समाजवादीसँग संवाद जारी रहेको भन्दै उनले कुनै गलत सहमति भने नगरिएको बताए । रेशम चौधरीको सम्वन्धमा अरु नेतालाई सोध्न उनले आग्रह गरे ।

तीन दलको बैठक बस्दै, यस्तो छ रणनिति
सत्ता समीकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा बीच छलफल हुँदैछ । जसपा र माओवादी केन्द्रको बैठकले सत्ता समीकरणका लागि कांग्रेससँग बसेर छलफल गर्ने निर्णय गरेको गरेपछि आज छलफल हुन लागेको हो। आज छलफल हुने बताइए पनि कति बेला हुने भन्ने टुंगो लागिनसकेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए। सत्ता सहकार्यबारे जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने पक्षमा देखिएका छन्

भने संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने ओलीसँग सहकार्य गर्न नसकिने पक्षमा देखिएका छन्। नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले प्रधानमन्त्री ओलीसँग छलफल गरेको छ। यस्तै‚ प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रसँग पनि छुट्टाछुट्टै छलफल गरिसकेको छ। कांग्रेसले पनि नयाँ सरकार गठनमा आफू अगाडि बढ्ने संकेत गरिसकेको छ। उसले नेतृत्व पाए सरकारमा जान सक्ने बताउँदै आएको छ ।

जसपाका नेताहरु पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन्। जसपाका अध्यक्ष यादवले कम्युनिस्ट र कांग्रेस दुवै दल सरकार चलाउन असफल भइसकेकाले अब सरकारको नेतृत्व आफूहरूलाई दिनुपर्ने धारणा राख्दै आएका छन्। यस्तै, माओवादी केन्द्र र एमालेको नेपाल–खनाल पक्षका नेताहरुले पनि आन्तरिक छलफललाई तीव्र बनाएका छन् । उनीहरुबीच प्रधानमन्त्री केपी ओलीले गरेको पछिल्लो निर्णयपछि नयाँ समीकरण बनाएर अघि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार