पूर्वमन्त्री मगरले भन्नुभयो, ‘हाम्रो अथक मेहनतले मेलम्चीको पानी खाने सपना बल्ल पूरा भयो’



काठमाडौं, १३ चैत । पूर्व खानेपानी मन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिको विशेष निमन्त्रणामा सुन्दरीजल पुग्नुभएकी पूर्व खानेपानी मन्त्री मगरले उक्त प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको हो । मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई खुवाउन आफ्नो कार्यकाल भरी अहोरात्र खट्नु भएकी पूर्व मन्त्री मगर काठमाडौंमा पानी वितरण हुनु अघि सुन्दरीजल पुग्नु भएको हो ।

सुन्दरीजल पुगेपछि उहाँले पत्रकारहरु माझ भन्नुभयो, ‘हाम्रो अथक मेहनत र योजना मुताबिक मेलम्ची आयोजनाको कामले तीब्रता पाएको हो । उपत्यकाबासीको मेलम्चीको पानी पिउने सपना अब करिब पुरा भएको छ ।’ मेलम्चीबाट सुरुङमार्फत् ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौं उपत्यकामा वितरण गरिनेछ । आयोजनाले मेलम्चीबाट आएको पानी शुक्रबारै उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौंका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।

आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो । इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो ।

मगरको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेक थ्रुदेखि हेडवक्र्स, सेन्सरगेट, प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा मन्त्रालयको निरन्तर अनुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएको समेत चर्चा छ ।

कस्तो रह्यो पूर्व मन्त्री मगरको कार्यकाल ?
चाइनिज निर्माण व्यवसायी चाइना रेलवेबाट ६४१७ मिटर समेत गरी जम्मा २५९२० मिटर सुरुङ्ग खन्ने तथा प्रारम्भिक सपोर्ट लगाउने कार्य गत चैत्र २७ गते ब्रेक थ्रु भएको थियो । हेडवक्र्स निर्माण क्षेत्रमा १ लाख घनमिटर ओपन कट तथा स्लोप स्टबिलाइजेशन गर्ने काम सम्पन्न भएको थियो । आयोजनाको सुरुङभित्र भुइँ ढलान गर्ने कार्य मगरकै पालामा पूर्ण रुपमा सम्पन्न भएको थियो । पूर्वमन्त्री मगरकै सक्रियतामा ६२ प्रतिशत प्रगति रहेको आयोजनाले ३० महिनाको अवधिमा ९७ प्रतिशत प्रगति हासिल गरेको थियो ।

आयोजनाको निर्माण कार्य सम्पन्न भएर सुरुङभित्र पानी परीक्षण गर्ने क्रममा आकस्मिक दुर्घटना भएपछि मेलम्चीको काममा अवरोध पैदा भएको थियो । तर, त्यसको समाधानका लागि मगरले अनवरत प्रयास गरेर आयोजनाको उद्घाटनको समेत वातावरण बनिरहेको बेला प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै मगरले राजीनामा दिएपछि आयोजनामा फेरि सुस्तता देखिन पुगेको थियो ।

कुन मन्त्रीको काम कति ?
मेलम्ची आयोजनाको परिकल्पना भएको ४६ वर्ष पुग्यो । यसको सम्भाव्यता अध्ययन भएको २७ वर्ष पुग्यो । मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको २० वर्ष भयो ।त्यसयता मेलम्ची विकास समितिले आयोजनाको काम निरन्तर अगाडि बढाइरहेको थियो । तर, मन्त्री फेरिएपछि आयोजनाको कामले गति लिन सकेन । २६ वर्षको अवधिमा प्रेमबहादुर सिंहदेखि बिना मगरसम्म २२ जना मन्त्री भए । २२ जना मन्त्रीले २६ वर्षमा ७० प्रतिशत काम गर्दा त्यसबारे खासै चर्चा भएन । तर बिना मगरले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै आलोचना भइरह्यो ।

तर, मन्त्री बिना मगरभन्दा पूर्वका डेढ दर्जन मन्त्रीहरुको कुल कार्यकालमा मेलम्ची आयोजनाको काम ७० प्रतिशत मात्र सम्पन्न भयो । खानेपानी मन्त्रीमा बिना मगर आएपछि आयोजनाको कामले गति लियो । तर, उहाँ आएपछि मेलम्चीको भौतिक प्रगति ९७ प्रतिशत पुग्यो । मन्त्री मगरको २१ महिने अवधि सम्म आईपुग्दा मेलम्चीको भौतिक प्रगति करिब ९७ प्रतिशत पुग्दा पनि आलोचना हुन छाडेन ।

मन्त्री मगरले यस अवधिमा खानेपानी ऐन, ढल नीति बनाउनुका साथै ठूला आयोजनाको सम्भाव्यता अध्ययनको काम समेत अघि बढाइन् । आफ्नो कार्यकालमा मन्त्री मगरले मेलम्ची आयोजनालाई नै मुख्य जिम्मेवारीका रुपमा लिँदै छिटोभन्दा छिटो आयोजनाको काम सम्पन्न गर्न अग्रसरता देखाइन् । तर राष्ट्रिय राजनीतिमा आएको उतारचढाव र फेरबदलले गर्दा मेलम्ची आयोजनाको उद्घाटन गर्ने अवसर पूर्वमन्त्री मगरलाई जुटेन ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार