तत्काल विद्यालय बन्द नहुने, शैक्षिक संस्थामा भीडभाड नगर्न सरकारको निर्देशन !



काठमाडौं । कोरोनाभाइरस संक्रमण बढेको भन्दै शिक्षा मन्त्रालयले शिक्षण संस्थामा भीडभाड हुने कार्यक्रम, सभा, समारोह, वार्षिक उत्सव नगर्न निर्देशन दिएको छ । विहिबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भीडभाड हुने प्रकृतिका कार्यक्रम र भेला नगर्न आग्रह गरेको हो । बैठकपछि जारी वक्तव्यमा दैनिक पठनपाठन संचालन गर्दा भीडभाड नहुने गरी संचालन गर्न समेत मन्त्रालयले निर्देशन दिइएको उल्लेख छ ।

विद्यालयमा कोभिड–१९ संक्रमणको जोखिम बढेको समीक्षा गर्दै बैठकले शिक्षक एवं विद्यार्थी सजग एवं सचेत हुनुपर्ने आवश्यकता औंल्याइएको छ । शिक्षण संस्थामा मास्क एवं सेनिटाइजर, साबुनपानी, ज्वरो मापन तथा लक्षण देखिएकालाई उपचार गर्ने व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको वेबसाइटमा राखिएको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ को कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ ।

सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको ८ बुँदे सुझाव : नाकामा निगरानी, बिमानस्थलमा कडाइ
काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई रोक्न स्वास्थ्य मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउनुपर्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिएको छ । मन्त्रालयले विहिबार आठबुँदे निर्णयसहितको सुझाव पत्र सीसीएमसीलाई पठाएको हो । भारत, बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपेली मुलुकमा बढेको भाइरस संक्रमणको जोखिम नेपालमा समेत बढेको पत्रमा जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परिक्षणमा सक्रियता बढाउन मन्त्रालयले सुझाव दिएको छ ।

संक्रमण बढ्ने सम्भावना भएकाले मन्त्रालयले पूर्वतयारी योजना बनाउने पत्रमा उल्लेख छ । सञ्चालनमा रहेका नेपाल-भारत सीमानाकालाई पुनरावलोकन गर्न र संक्रमण दर उच्च हुन पुगेका नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्न पनि सुझाइएको छ । नाका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न लगाउने, शंकास्पद व्यक्तिको एन्टिजेन परिक्षण गर्ने, संक्रमितलाई होम आइसोलेसनमा लैजान जिल्ला संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिने निर्णय पनि मन्त्रालयले गरेको छ ।

पर्यटन क्षेत्र अन्तर्गत सञ्चालन हुने रात्रीकालिन कार्यक्रममा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राती ९ बजेपछि रात्रीकालिन कार्यक्रम बन्द गर्न लगाउने, गर्नैपर्ने कार्यक्रममा सीमित व्यक्तिमात्र उपस्थित हुनुपर्ने निर्णय छ । अनुगमन चाहिँ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार