स्वयंसेवक शिक्षक शिक्षालाई तहसनहस पार्ने खेल: पूर्वशिक्षामन्त्री केसी



चितवन, फागुन १९ । पूर्वशिक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयम् सरकार नै अग्रसर रहेको आरोप लगाउनुभएको छ । नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर बनाउन र शिक्षा क्षेत्रलाई तहसनहस पार्न सरकार नै क्रियाशील रहेको दाबी गर्नुभएको हो ।

संघीय शिक्षा ऐन ल्याउन ढिलाई गर्दा स्थानीय सरकारहरुले स्थानीय स्तरमै आफुखुसी ऐन नियम बनाउन थालेका भन्दै केसीले शिक्षामा समस्या माथि समस्या थप्ने काम सरकारले गरिरहेको बताउनुभो । ‘भर्खरै अस्थायी शिक्षक समस्या समाधान भएको थियो फेरी स्वयंसेवक शिक्षकका नाममा अर्को अस्थायी शिक्षक समस्या सिर्जना गर्ने काम भएको छ ।’ केसीले भन्नुभयो, ‘स्वयंसेवक शिक्षकका नाममा शिक्षालाई तहसनहस पार्ने खेल शुरु भइसकेको छ ।’

शिक्षक अभाव भएका स्थानमा दरबन्दी सिर्जना गरेर स्थायी समाधान गरिनुपर्नेमा जोड दिँदै उहाँले शिक्षकका नाममा कार्यकर्ता भर्ती गर्न नपाइने जिकिर गर्नुभयो । शैक्षिक गुणस्तर नष्ट गर्दै शिक्षामा राजनीति गर्दा मुलुक वर्षौ पछाडि धकेलिने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार