मरिमेटेर लेख्दैमा र किताब हुबहु घोक्दैमा लोकसेवा पास भइँदैन, पास हुन यसरी पढ्नुपर्छ



स्कुलमा म औसत खालको विद्यार्थी थिएँ । घरको काम गर्दै एसएली गरेँ, आइए र बिए काम गर्दै पढेँ । रत्नराज्य क्याम्पसबाट स्नातकोत्तर गरेँ । ०६७ मा म भारतीय बोर्डको पाठ्यक्रम पढाइ हुने राजधानीका प्रतिष्ठित स्कुलहरूमध्ये एक रूपिज इन्टरनेसनल स्कुल, ताहाचलमा अंग्रेजी शिक्षक थिएँ । बिहान स्नातकोत्तरका विद्यार्थीहरूलाई पढाउने र साँझ रसियन र कोरियन विद्यार्थीहरूलाई पढाउँथे ।

औसत आम्दानी भएको जागिर गर्ने भएकाले मेरो आर्थिक हिसाबले पनि राम्रै थियो, जुन सरकारी जागिरभन्दा कम्ती थिएन । त्यस वेलाका नामी अंग्रेजी विषयविज्ञ र हाल परराष्ट्र सेवातर्फका सहसचिव घनश्याम भण्डारीजस्तै बन्ने मेरो सपना थियो । उहाँलाई आजसम्म पनि सबैभन्दा धेरै पछ्याइरहेको छु ।

शाखा अधिकृतदेखि उपसचिवसम्म
नागरिकता र पासपोर्टलगायतका कागजात बनाउन गए बाहेक सरकारी कार्यालयहरू बारेमा मेरो ज्ञान र अनुभव थिएन । मेरो मनमा सफल र उद्यमशील व्यक्ति बन्ने
सपना थियो ।

०६७ ताका लोकसेवाले मलाई आकर्षित गर्‍यो । त्यतिवेला मेरा काका र सरकारी सेवामा प्रवेश गरेका थिए । भाई २० वर्षमै सरकारी सेवामा प्रवेश गरेको थियो, शिक्षणका हस्ती काकाको पनि सरकारी सेवामै प्रवेशले मलाई तरंगित गर्‍यो । ०६७ को अन्त्यदेखि लोकसेवाको परीक्षा तयारी गरी पहिलोपटकमा नै ०६८ मा मैले शाखा अधिकृत पास गरेँ । त्यसको पाँच वर्ष पुग्नेबित्तिकै पहिलो परीक्षामा नै उपसचिवमा पनि सिफारिस भएँ ।

लोकसेवा आयोगको परीक्षामा मेरो अनुभव
लोकसेवाको तयारी सुरु गर्दा पाठ्यक्रम अनुसार नोट बनाएँ । सबैले प्रयोग गरेझैँ मैले पनि घोक्ने काम गरेँ । तर, कुनै एक आयाम घोकेर अरूको लागि पनि मिल्ने गरी सोधेमा लेख्न सक्ने गरी तयारी गरेँ ताकी कम समयमा धेरै तयारी गर्न सकियोस् तथा कम विषय स्मरण गरेर तयारी छरितो गर्न सकियोस् ।

भाषामा शुद्धता तथा लेखनसीपमा निखारता ल्याउने काम गरेँ
सैद्धान्तिक विषयमा राम्रो अध्ययन गर्ने तर, भाषिक अशुद्धता, वाक्य गठन, जानेको कुरा मिलाएर लेख्न जनान्ने वा बढी लेख्ने समस्या अधिकांश परीक्षार्थीमा हुन्छ । यसलाई सुधारेर पढाइसँगै लेख्य अभ्यास पनि गरेँ । विषयगत परीक्षाको लागि परिचय, पृष्ठभूमि, भूमिका वा निष्कर्ष परिच्छेद्मा तथा अन्य विषय बुलेट वा बुँदामा लेखेँ । पढन्ते र घोकन्ते भन्दा पनि प्राविधिक तयारी गर्न सकेमा यो बढी प्रभावकारी हुन्छ ।

समय तथा तनाव व्यवस्थापन
जति पढे पनि जानेको कुरा तोकेको समयमा लेख्न सकिएन भने लोकसेवाको परीक्षा पास गर्न सकिँदैन । त्यसैले, ५ वा १० अँकको प्रश्नलाई कुल समयले भाग गरी समय छुट्याई फम्र्याटअनुसार लेख्ने अभ्यास परीक्षापूर्व नै गर्नुपर्छ । यसले समय जोगिन्छ र तनाव पनि कम गर्छ । घरमा पूर्वतयारी गर्दा आफ्ना कमजोरी पत्ता लगाउन साथीसँग लेख्ने र एकअर्काको उत्तर जाँच्ने काम गरेँ । यसले आफ्नो पढाइको स्तर पत्ता लगाउन मद्दत मिल्छ ।

स्वास्थ्यको हेरचाह र आनीबानी परिवर्तन गरेँ
लोकसेवा पढ्दा मैले मासु वा बढी चिल्लो–पिरो खानेकुरा पनि खाइन । मायो क्लिनिकको अनुसन्धानअनुसार मासु खानाले यसलाई पचाउन शरिरलाई २४ देखि ७२ घण्टा लाग्ने (पुरूषलाई ३३ र महिलालाई ४७ घन्टाको औषतानुसार), चिल्लो वा पिरो खाना खानाले पेटमा गडबडी हुने हुँदा यस्तो खाने कुरामा पनि मैले नियन्त्रण गरेँ । साँझ छिटो सुते पनि म बिहानै उठ्ने गर्दथेँ । यसरी बिहानको समयमा पढ्ने वा घोक्ने अनि साँझको समयमा लेख्ने काम गरेँ ।

आफ्नो बानीलाई परिवर्तन गर्नुको साटो सुधार्नु नै बुद्धिमत्ता हो । कसैले १८ घण्टा पढ्नुपर्छ भनेको भरमा १८ घण्टा न त पढ्न सकिन्छ, न त पढेको कुरा दिमागमा बस्छ । मैले मुस्किलले एक घण्टा पढेँ भने १५ मिनेटजतिको ब्रेक लिन्थेँ । अचानक मनमा सरकारी जागिरको भोकको सपनाले ब्युँझाउँथ्यो र पुनः एक घण्टा समर्पणका साथ पढ्ने गर्दथेँ । यसो गर्दा पढेको कुरा मनन हुने र स्मरण गरेको विषय लेख्न पनि सकिने हुन्छ ।लोकसेवा तयारीका क्रममा मैले घुमफिर, भेटघाट र फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोग न्यून गरेँ ।

अध्ययन गर्ने यस्तो तरिका अवलम्बन गरेँ
साधारण ज्ञान अध्ययन गर्दा घोकेर साध्य छैन । त्यसैले, मैले यस्ता विषयहरू धेरैपटक दोहो¥याएर पढेँ । साथीसँग सोधेर आफ्नो तयारीमा निखारता ल्याएँ भने घरमा एक्लै पढ्दा उत्तर छोपेर प्रश्न पढी अनुमान गर्ने गरेँ । कत्ति कुराहरू जस्तै दिवस वा मितिमा कथा पनि बनाएँ ताकी परीक्षाको दिनमा मिति वा दिवसको याद नभए पनि कथा याद होस् । स्मरण गर्ने सूत्र पनि बनाएँ । सञ्चारमाध्यमबाट समाचार पढ्नेरसुन्नेरहेर्ने, यसमा प्रशासकहरूको लेख रचना भएमा कटिङ गरेर फाइलिङ गर्ने, यसबाट सम्बन्धित विषयको टिपोट गर्ने, पुराना प्रश्नपत्रहरूको सँगालोबाट शनिबारको दिन घरमा परीक्षा दिएजसरी लेखेर अभ्यास गर्ने गरेँ ।

आफ्नो उत्तर आफैँ र साथीमार्फत जाँच्ने, छलफल गर्ने, यात्रा गर्दा, काममा हुँदा, हिँड्दा वा खाली बस्दा पढेको कुरा स्मरण गर्ने प्रयत्न गर्ने पनि गरेँ । लोकसेवा पास गरेकाहरूको अनुवभ सुन्ने, जाँचकीले मन पराउने गरी उत्तर लेख्ने, अध्ययनका लागि इन्टरनेटको उपयोग गर्ने, समय सान्दर्भिक अन्य विषय पनि तयारी गर्ने तथा सम्भावित प्रश्नहरू आफैँले बनाएर लेख्ने अभ्यास गर्ने गरेँ ।

अन्त्यमा
लोकसेवा परीक्षा अन्धाधुन्धमा तयारी गर्ने कुरै होइन । मरिमेटेर लेख्दैमा र किताब हुबहु घोक्दैमा उत्तीर्ण भइन्छ भन्ने पनि होइन । कडा परिश्रम गर्दा पनि पास हुन नसक्ने, तर कसैले कम मेहनत गर्दा पनि एकै पटकमा सफल भएका परिक्षार्थी पनि थुप्रै छन् । तरिका मिलाएर पढ्नु नजान्नु यसको प्रमुख कारण हो । लोकसेवा आयोगको परीक्षा सोचेजस्तो सहज त नहोला, तर असम्भव पनि छैन । परीक्षा तयारी विधि र तौरतरिका वैज्ञानिक एवं व्यवस्थित बनाउँदै यसप्रतिको लगाव र झुकाव बढाई सोहीबमोजिम नियमित मेहनत गरेमा पास गर्न सकिन्छ ।

भविष्यमा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण भई कार्यालयबाट सेवाग्राहीहरूलाई सार्वजनिक सेवा प्रवाह गरेको कल्पना गर्नुपर्छ । यस्तो अभ्यासले भित्रैबाट पढ्ने इच्छाशक्ति जागृत हुने तथा भित्रैबाट अभिप्रेरित हुने हुन्छ । वेदप्रसाद भण्डारी, उपसचिव, नेपाल सरकार

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार