माधव नेपाललाई एमालेको प्रश्न, ‘प्रचण्डको मतियार बनेर ओलीविरुद्ध खनिने तपाईँलाई कारबाही किन नगर्ने ?’



काठमाण्डाै | नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीका चार नेतालाई १० बुँदे स्पष्टीकरण पत्र पठाएको छ । शनिवारको केन्द्रीय कमिटीको निर्देशनअनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई घरमै पुगेर स्पष्टीकरण पत्र दिइएको र तीन दिनभित्र पार्टी कार्यालयमा आइपुग्ने गरी जवाफ पेस गर्न भनिएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

स्पष्टीकरण पत्रमा प्रधानमन्त्री ओलीलाई प्रचण्डसँग मिलेर १९ पृष्ठ लामो शत्रुतापूर्ण र अराजक आरोप लगाएको र प्रचण्डको मतियार बनेर किन पार्टीविरुद्ध लागेको भनेर सोधिएको छ । यस्तै सडक तथा अनधिकृत स्थलमा बसेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय किन गरेको, पार्टी विधान विपरीत किन पटक–पटक निवेदन पेस गरेको, पार्टीको निर्देशन विपरीत चैत ४ र ५ गते किन गुटको राष्ट्रिय भेला राखेको भनेर पनि सोधिएको छ ।

यस्तै ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारको विरुद्धमा सडकबाट र सञ्चारमाध्यमबाट किन आवाज उठाएको, आफ्नै पार्टीका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाएर अरू दलका नेतालाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण के हो र यस्ता गतिविधि गर्ने तपाईँलाई कारबाही किन नगर्नेलगायतका स्पष्टीकरण सोधिएको छ । तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ पेस नगरेमा पार्टीको विधानअनुसार कारबाही हुने पनि पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार