
काठमाण्डौ | नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारमा जान हत्तार नगर्ने बताएका छन् । कांग्रेस महिला बिभागले आयोजना गरेको महिला भेलामा सभापति देउवाले जनताले प्रतिपक्षीमा बस्ने म्याण्डेड दिएकाले सरकारमा जान हतार नगर्ने स्पष्ट पारेका हुन् । देउवाले अहिले लोकतन्त्रलाई बचाउनका लागि अन्य दलहरुसंग छलफल भइरहेको पनि जानकारी दिएका छन् । उनले संसदमा कांग्रेसको संख्या कम भएकै कारण आफुहरुको एजेण्डा स्थापीत हुन नसकेको बताएका छन् ।
देउवाले स्थायी प्रजातन्त्र स्थापीत गर्नका लागि सवै दलहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । देउवाले नेपालको परिवर्तनमा महिलाहरुको सहभागीता निकै महत्वपूर्ण रहेको भन्दै कांग्रेसले महिलाका अधिकारको मुद्धाका लागि सदैव लड्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले मुलुकमा लोकतन्त्र जोगाउन र मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने बेला आएको धारणा राखेका थिए ।
प्रचण्ड के भन्छन् ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले पनि आफुलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् । प्रकाश बिकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक बिमोचन गर्दै दाहालले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाई आफु प्रधानमन्त्री बन्न नभएको स्पष्ट पारेका हुन् ।
सवैको हक अधिकार स्थापीत गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर गरे । उनले यसअघि पनि पटक पटक आफुलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए । आफुलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको बताउदै दाहालले अवको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताएका छन् । त्यस्तै दाहालले जनताको बिचार सहि भए सहि नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखेका छन् ।
प्रचण्डकै गुरु बैद्यले गरे यस्तो दाबी
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताउनुभएको छ । आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा महासचिव वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको बताए। क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा बन्दुक उठ्ने दाबीसमेत गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि सबै पार्टी संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफूहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए।
उनले भने, ‘प्रधानमन्त्रीजीले दुई वटा कुरा भन्नुभयो। एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मूलधारमा आए भन्नुभो। यो झुठ हो। सरासर झुठ हो। संसदवादी मुलधारमा छैनन्। यी क्रान्तिकारीहरु। हामी छैनौँ। यो व्यवस्थालाई मान्दैनौँ। त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन। क्रान्ति गर्नुपर्छ।’ उनले थपे, ‘विप्लवजीहरुले सम्झौता गर्न बित्तिकै शान्तिको युग वहाँहरुले भनेजस्तो शुरु भएको छैन। यहाँका समस्याहरु हुन, जबसम्म समाधान हुँदैन तबसम्म शान्तिको युग शुरु हुँदैन।
सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु सहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ? शान्तिको संविधान छैनन्। शान्तिको युग क्रान्ति गरेपछि आउँछ। बन्दुक उठाएपछि के हुन्छ? बन्दुक उठ्छ।’ महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानका निम्ति क्रान्तिको तयारी गर्नुपर्ने पनि बताए।