भागरथी हत्या प्रकरण : दिनेशले बुवालाई भने-‘परिवारलाई मार्ने धम्की आएपछि अपराध स्वीकारे’



कञ्चनपुर, ८ चैत । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षिया भागरथी हत्या प्रकरणमा दिनेश भट्टले आफ्नो बयान फेरेको दिनेशका बुवा दिपक भट्टले बताएका छन् ।आइतबार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलमा अभियुक्त दिनेश भट्टका बुवा दिपक भट्टले भागरथी हत्या प्रकरणमा दिनेश अपराधी नभएको भन्दै बयान फेरेको बताएका हुन् ।

दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर साबिती बयान दिन लगाएको उनका बुवा दीपकराज भट्टले बताए । दिनेशले अपराध अस्वीकार गर्दै अन्य दुई जनामाथि हत्या आरोप लगाएका छन् । उनीहरुले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप छ । आफू विद्यालयबाट घर फर्किंदा भागरथीका हत्यारा देखेको र उनले आफ्नो घाँटीमा चक्कु राखेर घटनाबारे बाहिर भन्यौँ भने तिमी, तिम्रो बुवा र भाइलाई मार्छौं भन्दै धम्की दिएपछि मैले अपराध स्वीकारेको अभियुक्त दिनेश भट्टका बुवा दीपक भट्टले बताएका छन् ।

दिनेशले हत्याराको आरोप लगाएका दुई जनामध्ये एक जना वडा कार्यालयको कर्मचारी रहेको र अर्कोलाई नचिनेको दिनेशका बुवाले बताएका छन् । बलात्करपछि हत्या अभियोगमा दीपायलस्थित बाल सुधार गृहमा रहेका दिनेश भट्टले फोन सम्पर्कमा अपराध अस्वीकार गरेपछि दिनेशका बुवा उनलाई भेट्न सुधार गृहमा पुगेका थिए । दिनेशको परिवारले दोषिलाई उम्काएर निर्दोषलाई फसाउने काम भएको दाबी गर्दै घटनाको सत्य, तथ्य छानविन हुनु पर्ने माग गरेको छ ।

गत २१ माघमा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको थियो । भागरथी र दिनेश दिदीभाइ हुन् । दिनेश कक्षा ११ र भागरथी कक्षा १२ मा सनातन धर्म मावि श्रीकोटमा अध्ययनरत रहेका थिए। गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि माघ २२ गते साँझ स्थानीय लबलेक जंगलमा निर्वस्त्र र वीभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार