माधव नेपाललाई एमालेबाट बिदा गर्ने तयारीमा ओली !



काठमाडौं |उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ । सबै समस्याको जरो केपी अ‍ोलीमा छ । जबज सिध्याउने काम तपाईले गर्नुभयो – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार सानेपामा भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने । करिब आधा घण्टा भेलालाई सम्बोधन गरेका नेता नेपालले अधिकांश समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि खर्चिए । उनले प्रधानमन्त्री ओलीका कार्यकर्ताहरुलाई साइबर स्याल भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिए ।

‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना जारी गरेका थिए । ४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए । म आफैँ पनि हेरेँ के पो आएछ ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ,’ उनले भने, ‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन्, अझै पनि बाँचिरहेका रहेछन् । नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन् । साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन् ।’

माधव नेपालको भाषणबाट रुष्ट बनेका प्रधानमन्त्री ओलीले पार्टी फुटाएर जान चेतावनी दिए । उनले पार्टी विधि र विधानमा चल्नै भन्दै गुटगत मनोवृति एमालेभित्र चल्न नदिने बताए । उनले एमाले भनेर एमालेका विरुद्ध गतिविधि गर्नुभन्दा अलग्गै पार्टी बनाएर गतिविधि गर्न सुझाव दिए ।

‘एमाले भनेर एमालेका विरुद्ध गतिविधि गर्नुभन्दा त्यो भन्दा अलग्गै गतिविधि गरे राम्रो होला नि । एमाले भएर गतिविधि गर्न पाइँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘छुट्टिन मन छ भने म सँग निवेदन हाले भयो नि । कानुन त्यस्तो ल्याइदेउ, सजिलो बनाइदेउ भनेर । हामी अलग हुन्छौं भने भो नि त ।’ उनले राजनीतिक करकापले नहुने भन्दै संगठनमा कसैलाई पनि जबरजस्ती नहुने बताए । उनले नेपाल समूह पार्टीबाट बाहिरिनै चाहेको हो भने उनीहरुलाई सजिलो हुनेगरी अध्यादेश ल्याइदिन पनि आफू तयार रहेको बताए ।

‘उहाँहरुले विधेयक माग्नु भयो भने म ल्याइदिन्छु । मान्छे कुनै बँधुवा भएर बस्न सक्दैन । मान्छेको विचारको स्वतन्त्रता हुन्छ । आफ्नो स्वेच्छाको कुरा हुन्छ । राजनीति भनेको स्वेच्छाको कुरा हो । संगठनको कुरा हो । बँधुवाको हिसाबमा मान्छेलाई राखेर केही पनि हुँदैन’, ओलीले भने । त्यस्तै प्रधानमन्त्री ओलीले एमालेमा आफू गुटसँग डिल नगर्ने भन्दै पार्टीका नाममा गरिएका भेला कारबाही योग्य भएको बताएका छन् ।

‘सबैले सुने हुन्छ, गुटसँग म डिल गर्दिन,पार्टीका कार्यकर्ता आ–आफ्ना ठाउँमा बस्नुपर्छ । गुटको दलबल लिएर आउन पाइदैन । पार्टीका नाममा जुन भेला गरिएको हो, कारवाही योग्य विषय हो, अब कारवाही पनि गुटलाई होइन व्यक्तिलाई हुन्छ, जो मुख्य दोषी हो त्यहाँबाट शुरु हुन्छ’, उनले भने । प्रधानमन्त्री ओली र नेता नेपालका पछिल्ला अभिव्यक्ति हेर्दा नेकपा एमालेमा सँगै मिलेर बस्न नसक्ने स्थिति देखा परेको छ । प्रधानमन्त्री ओलीले फागुन २८ गतेका निर्णय फिर्ता लिएर आफूहरुलाई सम्मानजनक स्थान दिनुपर्ने नेपाल पक्षको माग छ । प्रधानमन्त्री ओलीले पद भन्दा पनि पार्टीमा आएर खुरुखुरु काम गर्न आग्रह गरेका छन् । नेपाल पक्षले पार्टी सञ्चालनमा अवरोध गरेकाले आफूले प्रदेश इञ्चार्ज र विभिन्न कमिटी विस्तार गर्नू परेको बताएका छन् ।

प्रचण्ड–माधवबीचको एकता कति सम्भव ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई एमालेमा समस्या भएकाले आफूहरुबीच पार्टी एकता हुने बताएका छन् । उनले संसद विघटन गर्दा माधव नेपालले प्रधानमन्त्री ओलीलाई प्रतिक्रान्तिकारी, प्रतिगामी भनेर गाली गरेकाले अहिले अफ्ठ्यारो परेको भन्दै एकताका निम्ति अलग भेला गरेको बताए । सिन्धुलीमा आयोजित भए कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने – अफ्ठ्यारो त माधव–झलनाथजीहरुलाई पर्यो । हामीले त केपीलाई अध्यक्ष र साधारण सदस्यबाट पनि हटाइयो । प्रधानमन्त्रीबाट पनि हटाउने तयारुी भइरहेको छ ।

प्रतिक्रान्तिकारी, प्रतिगामी भनेर गाली पनि गरियो, अझ मैले भन्दा माधवजीले बढी नै गर्नुभयो । फेरि एमाले बनाएपछि उहाँहरूलाई अप्ठेरो छ । केपीले अब माधवहरू आउँदैनन् भन्ने सोचेका रहेछन् । अब त्यहाँ झमेला त शुरू भयो । माधवजीहरू बाध्य भएर अलग्गै भेला गर्दै हुनुहुन्छ र एकताकै निम्ति अघि बढ्नुहुन्छ । माधव नेपाल समूहले सानेपास्थित एक होटलमा राष्ट्रिय कार्यकर्ता भेला चलाइरहेको छ । पार्टी एकतालाई मजबूत राख्न उक्त भेला आयोजना गरिएको भनिएपनि एमालेमा रहने वा नरहने भन्ने विषयमा छलफल केन्द्रीत भएको एक सांसदले जानकारी दिए ।

उनकाअनुसार प्रधानमन्त्री ओलीले फागुन २८ को निर्णय फिर्ता लिएर सम्मानजनक स्थान नेपाल समूहले पाए मात्र एमालेमा बस्ने सहमति नेताहरुले गरेका छन् । ‘एमालेमा सम्माजनक पद पाएको खण्डमा हामी बस्छौं नत्र प्रचण्डजहिरुसँग मिलेर एकता प्रक्रिया अगाडि बढाउने विषयमा छलफल केन्द्रीत छ’, नेपाल समूहका एक सांसदले भने ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार