कालिकोटका एक युवक द्धारा जापानवाट उर्जामा पहिलो विद्यावारिधि !



कालिकोटं । कर्णाली प्रदेशको कालिकोट जिल्लाबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधि गर्नु भएको छ । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधि गर्नु भएको हो । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधि गर्ने शाही पहिलो बन्नु भएको छ ।

टोकियो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो । नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नातकोत्तर समेत गर्नु भएका शाहीले विकासोन्मुख देशहरुले उर्जामा कस्तो नीति बनाउने भन्ने विषयमा गहन अनुसन्धान गर्नु भएको छ । रास्कोट–५, कालिकोटको एक सामान्य परिवारका शाहीको यो अध्ययनले नेपालको उर्जा विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्ने आशा गरिएको छ ।

विद्यावारिधि प्राप्त गरेपछि उहाले भन्नु भयो , ‘मलाई सधैं केही नयाँ गरौं र केही नयाँ सिकौँ भन्ने कुरामा अलि बढी ध्यान हुन्छ । कर्णाली जस्तो अत्यन्त न्यून गुणस्तरको प्रारम्भिक शिक्षा लिएर अत्यन्त उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा हासिल गरेका अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्ति तथा अनुसन्धानकर्तासँग प्रतिस्पर्धा गरी शिक्षा हासिल गर्न त्यति सहज भने पक्कै छैन ।
उहाँले पुनः भन्नु भयो तर, निरन्तरको प्रयास, असफलता बहन गर्न सक्ने अठोट र सबैको समर्थनले मेरो यो यात्रा पूरा भएको छ । एक अनुसन्धान कर्ताका लागि सधैं ज्ञान अपूर्ण नै रहन्छ । म निरन्तर अध्ययन अनुसन्धान मै रहनेछु ।’

विद्यावारिधिको क्रममा शाहीका अनुसन्धानमूलक २ वटा सामग्री विश्वकै नम्बर १ जर्नल एल्सेभिरद्वारा प्रकाशित ‘इनर्जी एण्ड विल्डिङ’ र ‘विल्डिङ एण्ड इन्भारोमेन्ट’ मा प्रकाशित भएका छन् । साथै उहाले विश्वविद्यालयबाट विश्वका धेरै गोष्ठी, सेमिनारहरुमा सहभागी भएर आफ्ना प्रस्तुति दिइसक्नु भएको छ । उहाले टोक्यो युनिभर्सिटीबाट वेस्ट प्रिजेन्टेशन अवार्ड र हाइ इम्प्याक्ट जर्नलमा प्रकाशन गर्न सफल भएकोमा अवार्ड प्राप्त गर्नु भएको छ । एल्सेभिरमा जर्नलमा प्रकाशित शाहीका आलेखमा घरमा प्रयोग हुने ऊर्जा र समग्र ऊर्जाको तर्कसंगत प्रयोगका बारेमा उल्लेख गरिएको छ । उहाको यो अध्ययन उर्जा क्षेत्रको बहसमा नयाँ अवधारणा मानिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार