
काठमाडौं । दोस्रो संविधानसभा निर्वाचन र त्यसअघि सर्वाधिक चर्चामा आएका पदम कुँवर यतिबेला गुमनाम छन् । ०६९ सालमा भृकुटीमण्डपमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष (तत्कालिन एकीकृत नेकपा माओवादी) पुष्पकमल दाहाल प्रचण्डलाई गालामा चड्कन हानेका थिए, कुुँवरले । उनलाई पक्राउ पनि गरिएको थियो । उनले चड्कन हान्नुको कारण प्रस्ट थियो– जनयुद्धका नाममा वेपत्ता, अपांग र सहिद परिवारको बेवास्ता गरी आत्मकेन्द्रित भएर प्रचण्ड अघि बढे । उनलाई अझै पनि प्रचण्डको यहि हर्कत मन पर्दैन ।
माओवादी आन्दोलनका नाममा युद्धभर बन्दुक बोकाएर शान्ति प्रक्रियामा आएपछि भ्रष्टाचारको थुप्रोमाथि प्रचण्ड उभिएको उनले बताएका थिए । त्यसैले ०७० सालको संविधानसभा निर्वाचनका बेला प्रचण्डविरुद्ध काठमाडौं–१० मा उनी निर्वाचन पनि लडे । प्रचण्ड पराजित भए । तर, उनले होइन नेपाली कांग्रेसका राजन केसीले प्रचण्डलाई पछारे । कुँवरको त जमानत जफत भएको थियो ।
तर, प्रचण्डविरुद्ध उम्मेदवारी दिनुमा पनि उनको तर्क स्वभाविक थियो कि युद्धका डोभहरूलाई यथावत राखेर परिवार र ठेकेदारका लागि प्रचण्डले राजनीतिको तिलाञ्जली दिए । बागलुङ राजकुत–२कुँवरले प्रचण्डले १० वर्षे जनयुद्धका सहिद, बेपत्ता र घाइतेहरूको अपमान गरेर आफ्नो मात्र स्वार्थ पूर्ति गर्न लागेकाले उनीविरुद्ध नै सांकेतिक रूपमा विरोध जनाउन उम्मेदवारी दिएको बताएका थिए । त्यसबेला काठमाडौ जिल्ला निर्वाचन कार्यालयमा प्रचण्डका पछिपछि आफ्नो उम्मदवारी दर्ता गराएका थिए ।
‘माओवादी युद्धमा लाग्नुको कारण भनेको मुलुकमा परिवर्तनमात्र होइन, मुक्ति पनि चाहिएको थियो । तर जसले मुक्तिका लागि जीवनदान गरे उनको परिवार अहिले पनि दुखमा छ’, उनले भन्ने गरेका छन्,‘सुखमा प्रचण्डको परिवार, उनका आसेपासे ठेकेदार र नाफामुखि व्यक्तिमात्र छन् । गरिब र पूर्वलडाकूको विजोग कसले देख्ने ?’ प्रचण्डले युद्धको नेतृत्व गरेका कारणले नै गाला चड्काएको उनले बताएका थिए । त्यसबाहेक माओवादीका अन्य नेतासँग पनि उनी क्रोधित थिए । अहिले पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी भएपछि भने कुँवरले खासै प्रतिक्रिया दिने गरेका छैनन् । बरु, युद्धको पीडा भोगेकाले नेताहरूलाई देखाउने प्रतिक्रियाले दंग छन् ।
बाबुराम भट्टराईलाई अमेरिकामा कालो झन्डा देखाउने द्वन्द्वपीडितको आन्दोलन पनि सही लागेको छ, उनलाई । त्यसैले बाबुुरामविरुद्ध आएका कतिपय आलेखलाई सामाजिक सञ्जालदेखि धेरै ठाउँमा सेयर पनि गर्छन् । कतिपय पूर्वलडाकूले आफ्नो अध्ययन छाडेर बन्दुक बोक्न बाध्य भए । भविष्यको सुनौलो बिहानीको साटो अंगभंग र पीडाको भवसागरमा डुबेका छन् । ‘उनको रुप र युद्धमा अपांग भएकाहरूको अवस्थालाई तुलना गरौं, के युद्धमा मारिएका परिवारले राहत पाएका छन् ? परिवर्तनका लागि बन्दुकका कुन्दालाई जंगलमा गाडेर युद्ध लड्नेहरूले न्याय पाए ?’, उनले त्यसबेलै मिडियामा भनेका थिए,‘त्यसैको याद दिलाउनका लागि चड्काएको थिएँ ।’