नेपाल बैंकले ३०० युवालाई विना ब्याज ३ लाखका दरले कर्जा दिने,यस्तो छ प्रक्रिया !



काठमाडौं । नेपाल बैंक लिमिटेडले ३०० जना युवालाई विना ब्याज जनही ३ लाखका दरले व्यवसायिक कर्जा दिने भएको छ । राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिकाको जमानीमा बैंकले यस्तो कर्जा दिने भएको हो । मंगलबार बैंक र नगरपालिकाबीच कर्जा प्रवाहको सहमति भएको छ ।

यस्तो सहमति बैंक र नगरपालिकाको संयुक्त आयोजना चैत ३ देखि ०९ गतेसम्म ७ दिन ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता (जीवाईबी/एसवाईबी)’तालिम कार्यक्रम सञ्चालन गर्ने र सो कार्यक्रम पश्चात तालिमप्राप्त ३०० जनालाई नगरपालिकाको जमानीमा बैंकले विना ब्याज कर्जा प्रवाह गर्ने सहमति भएको छ ।

राजधानीमा मंगलबारदेखि जारी सो तालिममा १० समूहमा ३७० जना नगरवासी युवाहरुको सहभागिता रहेको चाँगुनारायण नगरपालिकाले जनाएको छ । सो अवसरमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यन्वयनको लागि परिषद्ले युवा र बैंकलाई जोडने काम गरेको बताएका छन् ।

साथै बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । यता,कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंकका डिपुटी सिइओ प्रकाश अधिकारीले आवश्यक डकुमेन्ट सहित प्रक्रियामा आए बैंकले त्यस्तो प्रस्तावना हेरेर लगानी गर्ने बताए ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार