सर्वदलीय छलफलमा भाग लिन प्रचण्ड शितल निवासमा, खनाल-नेपाल नजाने



सर्वदलीय छलफलमा भाग लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितलनिवास पुगेका छन्। प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरूङ पनि राष्ट्रपति निवास पुगेको एक नेताले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक राखेकी थिइन्। बैठकमा नेकपा एमालेका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल भने सहभागी नहुने भएका छन्। राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्रीहरूलाई सर्वदलीय बैठकमा बोलाएकी थिइन्।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा, खनाल नेपाल नजाने
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल नजाने भएका छन्। एमाले केन्द्रीय सदस्य विष्णु रिजालले खनाल र नेपाल राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी नहुने जानकारी गराएका हुन्। रिजालका अनुसार बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले उनीहरू राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने जानकारी गराएका हुन्।

यस्तै पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति भण्डारीले निम्ता गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी हुने/नहुनेबारे टुंगो नभएको उनको सचिवालयले जनाएको छ। समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरू र पूर्वप्रधानमन्त्रीलाई मंगलबार अपरान्ह ४ बजे बोलाएकी हुन्।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार