
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ । तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ । माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?’
माधव नेपाल समूहले राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग सोमबार दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले राष्ट्रिय भेला नरोकिने बताएका हुन् । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने बताएका हुन् ।
धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो । उक्त भेलामा सहभागी एक नेताका अनुसार, ओलीसँगको छलफल निश्कर्षमा नपुगेकाले कुनै पनि नरोकिने निर्णय नेपालले सुनाएका छन् ।
ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । तर नेता खनाल–नेपाल समूहका नेताहरुले उक्त चियापानमा नजाने बताएका छन् । नेताहरुले आफ्नो समूहका कोही पनि उक्त चियापानमा नजान निर्देशन दिएको छ ।