प्रचण्डलाई पदमको थप्पड, रतनको जुत्ता !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक आक्रमण भइरहेको छ । उनलाई आज भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राष्ट्रियसभागृहमा जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरे । तिरुवा पूर्व लडाकुका छोरा हुन् । यसअघि प्रचण्डलाई बाग्लुङका पदम कुँवरले २०६९ मंसिरमा थप्पड हानेका छन् । माओवादीले आयोजना गरेको चीयापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि कुँवर चर्चामा आएका थिए ।

चियापानमा सर्वसाधारणको लाइनमा उभिएर प्रचण्डसँग मञ्चमा हात मिलाउन पुगेका बेला कुँवरले प्रचण्डको गालामा झापड हाने । प्रचण्डलाई थप्पड हानेपछि कार्यकर्ताको कुटाइबाट घाइते भएका कुँवर पूर्व कार्यकर्ता थिए । माओवादी आन्दोलनका नाममा युद्ध भर बन्दुक बोकाएर शान्ति प्रक्रियामा आएपछि भ्रष्टाचारको थुप्रोमाथि प्रचण्ड उभिएको भन्दै आफूले थप्पड हानेको प्रतिक्रिया दिएका थिए । केही दिन प्रहरीको हिरासतमा रहेका कुँवर प्रचण्डले माफी दिएपछि मुक्त भएका थिए । उनीपछि दोस्रो संविधानसभाको चुनावमा काठमाडौं १० मा प्रचण्डसँगै सभासद पदको निर्वाचनमा प्रतिस्पर्धी बने । उनले सो चुनावमा ३८ मत पाएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार