‘केपी ओलीलाई ठेगान लाउन फर्किन्छौंं भन्नेको खुट्टी देख्दै पत्याइयो’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन चुनौती दिएका छन्। आज शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघले १११औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षीहरुलाई मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिएका हुन्। ‘कसैले हटाए पनि नेकपा (एमाले) बीस महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्छ । लगभग दुई तिहाई लिएर सिंहदरबार पस्छौँ। १९ महिना पछि। अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस्।’ प्रधानमन्त्रीले भने ।

उनले जालझेल, षडयन्त्र, मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाउन चुनौति दिए । ‘बीस महिना पछि फेरि यो पार्टी, सूर्य चिन्हधारी पार्टी, नेकपा (एमाले) नामको पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मुल गेटबाट फेर‍ि पस्छ। हामीलाई प्रतिपक्षमा एकछिन रहन कुनै गाह्रो छैन । प्रतिपक्षमा पनि बस्न तयार । हामी सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं।’

ओलीले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी मात्र दिइएको बताए। माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडि बढ्ने भन्नेबारे सल्लाह गरिने ओलीले उद्घोष गरे। ‘उहाँहरु कता जानुभयो ? कता जान हिँड्नुभएको थियो ? बाटामा तगारो आयो अरे। तगारो आएपछि कसैले फर्क भन्दियो अरे। फर्किदै हुनुहुन्छ अरे। ठिक छ फर्किनुस्। आउनुस्। केही गरिदिया छैन उहाँहरुलाई।’ प्रधानमन्त्रीले भने ।

ओलीले नेपाल–खनालले जस्तो कसैलाई पार्टीबाट कारवाही नगरेको, ननिकालेको समेत बताए । ‘उहाँहरुले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन। पार्टी सदस्यबाट निकालेँ भन्या छैन। कतैबाट निकाल्या छैन, तर हामीले काम गर्दै गर्नका लागि, काम गर्दै गर्नुपरेन ? पार्टी चलाउँदै गर्नु परेन ?’
पार्टी अध्यक्ष ओलीले चेत्र ७ गते बैठक बोलाइएको बताउँदै मञ्चबाटै माधब–झलनाथलाई बैठकमा आउन आग्रह गरे । ‘आउनुस् । छलफल गरौँला । कसरी अगाडि बढ्ने बढौला।’ ओलीले भने ।

उनले बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने बताउँदै भने–‘हिजो हामी केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाबाट रुवाबासी गर्दै अदालतको फैसला पछि बिदावारी भएर हिँड्नु भएको थियो रे । अर्याल होटलसम्म आइपुग्नु भाको छ त्यहाँ एक दुई रात बास बस्नुभाको भन्ने सुनियो । बैठकमा आइपुग्नु भको छैन, प्रसस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु। यत्रोविघ्न टेलिभिजनले खिचेको छ, लाइभ दिइराख्या होला सुनिन भन्न पाइने छैन।’

२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको बताउँदै अनुपस्थित भए पार्टीको विधानको व्यवस्था अनुसार हुँदै जाने बताए । प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडि बढ्न नेकपा (माओवादी केन्द्र) का नेता कार्यकर्तालाई पनि आग्रह गरे। एमालेहरुलाई पनि सच्चिएर आउन आग्रह गर्दै केपी ओलीलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस लाग्ने दाबी गरे। ‘म हिजो माओवादी केन्द्रमा रहेका नेता, कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु । हामीले एकता गरेको थियौँ । एकतामा कायम रहौँ । अगाडि बढौँ । म स्वागत गर्छु साथीहरुलाई । फेरि पनि वेलकम गर्छु । आउनुस सँगै मिलेर अघि बढौँ ।’

केपी ओलीलाई ठेगान लगाउछौं भनेर वक्तव्यबाजी गर्नेहरुको खुट्टी देख्दै पत्याइएको भन्दै ओलीले कटाक्ष गरे । ‘केपी ओलीलाई ठेगान लाउन फर्किन्छौं । खुट्टी देख्दै पत्याइयो । काम गर्न आउनुस्। पार्टी चलाउन आउनुस् । देश बनाउन आउनुस् । सच्चिएर आउनुस्। स्वागत छ। केपी ओलीलाई ठेगान लाउन आउनुभो भने तपाईको खुट्टामा बाटैमा ठेस लाग्छन् ।’ ओलीले भने । नक्कली लोकतन्त्रवादीहरुले चुनावमा जाने आँट नगरेको भन्दै ओलीले फेरि लगाउने जोगी जस्तो हुँई हुँई पार्दे केही कसको घर घरमा ‘प्रधानमन्त्री खाइदिनु पर्यो’ भन्दै निवेदन हाल्न जाने गरेको जिकिर गरे । ‘पार्टीको बैठक बसेकै छैन, दलको नेता फेर अरे, अध्यक्ष भए अरे, आफ्नो पार्टीको सरकार भत्काएर विभिन्न टाला टुली बटुलेर टाले सरकार बनाउन हिँडेका छन्’ ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले समाजमा महिला अघि बढेको देख्न नसक्ने प्रवृत्ति अझै रहेको बताए । पुरुषले पद पायो भने आफ्नो बाहुबलले, आफ्नो क्षमता योग्यताले पायो भन्ने महिलाले पाउँदा उनको हुर्मत लिने गरिने उनको भनाई थियो । ओलीले बोक्सी र छाउपडी जस्ता कुरिति विरुद्ध लाग्न पनि महिलाहरुलाई आह्वान गरे । ‘बोक्सी भन्ने कुरा हुने भए नारा जुलुस गर्न छोडेर मै विरुद्ध लगाइदिन्थे’ उनले भने ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार