
काठमाडौं । मनिषा कोईराला नेपाली राजनीतिमा होम्मिन तयार भएकी छिन् तर अलमलमा परेको देखिन्छिन् । नेपाली कांग्रेसको जगमा उभिएको काेइराला परिवारमा जन्मेकी मनिषा केही समयदेखि राजतन्त्रको वकालत गर्नेहरुसँग हिमचिम बढाएको देखिन्छ, जसले गर्दा उनको राजनीतिक यात्रा कुन पार्टीबाट र कसरी सुरुवात हुन्छ भन्ने अनुमान लगाउन सकेका छैनन् ।
मनिषा कोइराला विगत दुई वर्षदेखि मुलुकभित्रै बसिरहेकी छिन् र यो बसाइमा नेपाली राजनीतिदेखि नेताहरुलाई नजिकबाट नियाल्ने कोशिष गरिरहेकी छिन् । केहि महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी मनिषाले भर्खरै पूर्वराजा ज्ञानेन्द्र शाहसँग समेत भेट गर्न भ्याएकी छिन् । मनिषाको पूर्वराजा ज्ञानेन्द्र शाहसँग औपचारिक नभएर एक पार्टीमा जम्काभेट भएको हो । एक रात्रि भोजमा मनिषा र ज्ञानेन्द्र शाहको जम्काभेट भएको थियो, जहाँ शाहले एकछिन समय लिएर मनिषालाई सल्लाह सुझाब समेत दिन भ्याएका थिए ।
पूर्वराजा शाहले मनिषालाई भने, “राजावादी भन्ने दशथरि मानिससँग भेटेर नहिँड्नु । हामीलाई यी राजावादीहरुले भन्दा पनि केपी ओलीले मात्र सजिलो हुनेगरि केहि गर्छन्, त्यसैले राजावादीहरुसँग हिमचिम नगर्नू । केपी ओलीले जे गरिरहेका छन्, त्यसले हामीलाई फाईदा पुर्याउँछ त्यसैले ओलीको चर्को विरोध पनि नगर्नू ।”
मनिषासँग पूर्वराजा ज्ञानेन्द्र शाहले भनेको कुराले अहिले राप्रपामा ठूलो अर्थ लिएको छ । शाहको उक्त अभिव्यक्तिले गर्दा अहिले राजावादीहरु समेत केपी ओलीको भक्तिभजन गाउन थालेका छन् । हिन्दूराष्ट्र र राजसंस्थाको एजेन्डालाई केपी ओलीले मात्र उठाउन सक्ने नत्र नेपाली कांग्रेससँग मिल्नु पर्ने अवस्था शाहले आंकलन गरेका छन् । मनिषा कोइरालासँग भेटवार्ताबारे पूर्व जर्नेल प्रेमसिंह बस्न्यातको टिमबाट बाहिर निस्किएको हो । अहिले कमल थापाकाे राप्रपाबाट पूर्व राजालाई अहिले कुनै खालको पनि आश नरहेको समेत चर्चा चल्न थालेको छ ।