‘प्रचण्डले वर्ग संघर्षको कुरा गरेको चित्तै बुझेन, जुत्ता हान्दिएँ’



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्रहार गर्ने युवक पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ । जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए । उनले हानेको जुत्ता प्रचण्डलाई लागेन। तत्कालै त्यहाँ रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिए।

अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए। उनले नेपालगञ्जमा अमिन पढेका थिए। अचेल उनी काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका थिए । ‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ । उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार