
काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), पर्वतको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ। कार्यालयमा साबिकको एमाले नेता तथा कार्यकर्ताले बोर्ड परिवर्तन गरेका हुन्। नेकपा दुई समूहमा विभाजन भएपछि लामो समयदेखि बन्द रहेको कार्यालयमा सोमबार एमालेको बोर्ड राखिएको हो। कार्यालय पनि खुला गरिएको छ।
अव एमाले पार्टीको पूर्ववत् अवस्थामा गतिविधिहरू सञ्चालन हुने र सोही कार्यालय नै एमालेको रहने युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले बताए। उक्त कार्यालय पहिले पनि एमालेको थियो। यता मोरङमा पनि साविक एमालेको पार्टी कार्यालयमा बोर्ड राख्ने अभियान सुरु भएको छ । पथरीशनिश्चरे, बेलबारी लगायतका क्षेत्रमा बोर्ड राख्ने अभियान सुरु भएको हो ।
अन्तत : नेकपा एमालेमै फर्किए माधव नेपाल, एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेका सांसद भएका छन् । उनी एमालेका वरिष्ठ नेता पनि हुन् । कानुनी रुपमा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि नेपाल अप्ठ्यारोमा परेका छन् । उनको साथमा रहेका सांसदहरु पनि अलमलमा परेका छन् । एमालेभित्र नेपाल अल्पमतमा छन् । उनीसँग पार्टी अलग गर्नका लागि आवश्यक ४० प्रतिशत सांसद संख्या पनि पुग्दैन । त्यसैले उनी एमालेमै बसेर संघर्ष गर्ने अवस्थामा पुगेका छन् ।
माधव नेपालले तत्काल केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने रणनीतिक कदम चाल्ने बुझिएको छ । उनी अहिले पनि ओलीको बर्हिगमनमा लागेका छन् । सत्ताबाट ओलीलाई हटाएपछि एमालेभित्रै शक्ति वृद्धि हुने नेपाल पक्षकोे बुझाई छ । अहिले ओलीलाई हटाउन सिधै लाग्दा संसदीय दलको विधान बमोजिम ह्वीप विरुद्ध जाँदा सांसद पद नै गुम्न पुग्छ । त्यो चुनौती पनि नेपालसँग छ । तर, अविश्वासको प्रस्ताव आउँदा नेपाल पक्षले साथ नदिए ओली स्वत : सरकारबाट हट्न वाध्य हुन्छन् । अब नेपाल पक्षले रणनीतिक चार्तुयता देखाएर ओलीलाई सत्ताबाट हटाउने निश्चितप्रायः छ ।
नेपाल पक्षको सांसद पद खारेज गरेमा पनि ओली कमजोर हुन पुग्छन् । प्रत्यक्ष चुनाव जितेकाहरुको हकमा पुनः अर्को नाम लान सकिने अवस्था छैन । यो अवस्थाका कारण ओलीले तत्काल बाजी मारेपनि अप्ठ्यारोमा छन् । उनलाई सत्ता जोगाउन निकै ठुलो चुनौती छ ।