
काठमाडौं । दुईवर्ष भूमिगत बसेपछि सार्वजनिक भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटघाटमा व्यस्त छन् ।सरकारसँग भएको तीनबुँदै सहमतिसँगै विप्लव शुक्रबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक कार्यक्रममा सार्वजनिक भएका थिए ।
सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धअघि नै सार्वजनिक कार्यक्रममा देखिन छाडेका विप्लव त्यसपछि भूमिगत भएका थिए । सरकारसँग वार्तामार्फत तीनबुँदे सहमतिपछि सार्वजनिक भएका विप्लव जेलमा रहेका सहकर्मी भेट्नेदेखि अन्य राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
उनले पछिल्लो दुईदिनमा नख्खु कारागारमा रहेका आफ्नै पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’लाई भेटेका थिए । यस्तै उनले नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, सिपी गजुरेल, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतसँग भेट गरेका छन् ।
आजमात्रै विप्लव पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्न उनकै निवास पुगेका थिए । भोली (सोमबार) उनी पार्टीनिकट महिला संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्न कपिलवस्तु पुग्नेछन् । कपिलवस्तु उनको गृहनगर समेत हो ।यसबाहेक उनले उपत्यकामा रहेका नेता–कार्यकर्तासँग भेटघाटलाई तिव्रता दिएका छन् ।
पूर्वमाओवादी नेता समेत रहेका विप्लवले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने–नभेट्ने भने तय भइसकेको छैन । शनिबार मात्रै प्रचण्डले एक कार्यक्रममा विप्लवलाई स्वागत गर्न आफू तयार रहेको बताएका थिए ।विप्लवको सुरक्षामा इन्स्पेक्टरको नेतृत्वमा १० जना प्रहरी खटिएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सुरक्षा दिइरहेको छ । एक प्रहरी अधिकारीले भने,“भर्खरै वार्तामा आएकाले अहिले उहाँमाथि सुरक्षा जोखिम हुन सक्छ त्यसैले सुरक्षा दिइरहेका छौँ । विस्तारै सहज बन्दै गएपछि संख्या घटाउँदै लैजान्छौं ।”