ऋषि कट्टेलको मुद्दामा आज फैसला, एमाले र माओवादी केन्द्र फेरि जन्मनसक्ने



काठमाडौं । ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी अस्तित्वमा हुँदा हुँदै नेकपा बनाएर आयोगमा दर्ता भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा मुद्दामा आज फैसला हुने भएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले मिति तोके बमोेजिम आज फैसला हुने भएको हो ।

यसअघि १३ फागुनमा न्यायाधीशहरु श्रेष्ठ र रेग्मीको इजलासले २० फागुनमा फैसला गर्ने भनेकोमा पूर्व प्रधानन्यायधीश सुरेन्द्रप्रसाद सिंहको निधनले स्थगित भएको थियो । अब आज उक्त मुद्दाको फैसला सुनाउने तयार भएको हो । नेकपा विभाजन भएपछि कट्टेलले दुई वर्ष अघि दायर गरेको मुद्दामा चासो बढेको छ । उनी आधिकारिकतामा आफ्नो दाबी गरेका छन् । नेकपा दर्ता हुँदा हुँदै अर्को दल त्यही नाममा दर्ता गर्न दिएकोमा असन्तुष्टि समेत पोखेका छन् ।

कट्टेल अहिले विप्लव, मोहन वैद्द किरण र आहुती नेतृत्वमा रहेको दलबीच समिकरण भएको छ । यसले पनि उनलाई बलियो बनाएको छ । त्योभन्दा पनि नेकपाको आधिकारिताबारे निर्वाचन आयोगमा संघर्ष चलिहँदा ऋषि कट्टेलको मुद्दाले नयाँ परिस्थिति ल्याउन सक्ने देखिएको छ ।

कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेका थिए । जेठको पहिलो हप्तामै नेकपा एकी भएको थियो । अब कट्टेले दायर गरेको मुद्दाको पक्षमा फैसला भएमा नेकपा विगतमा जस्तै एमाले र माओवादी केन्द्रको अवस्थामा पुग्न सक्छ । त्यतिबेला सुर्य चिन्ह एमालेको थियो । ऋषि कट्टेलले मुद्दा जितेमा नेकपाको उनको समूह नै आयोगबाट खारेज हुनसक्छ । त्यतिबेला एमाले र माओवादी केन्द्र ब्युझिन सक्छ । नाम मात्र जुधेकाले फेर्न फैसलामा उल्लेख भएमा नेकपा विवादको टुंगो निर्वाचन आयोगको हातमा पुग्न सक्छ । यसले राजनीतिक घटनालाई नयाँ मोड दिन सक्छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार