
काठमाडौं । गत फागून ७ गते अर्थात् प्रजातन्त्र दिवसका दिन प्रदेश प्रमुखमा नियुक्त हुनु भएका डा.राजेश अहिराज बिहान ६ बज्दा प्रदेश कार्यालय पुगिसक्नुहुन्छ । उहाँ प्रदेश कार्यालय पुग्दा १० बजे कार्यालय आईपुग्ने कतिपय कर्मचारी त मध्यनिन्द्रामै हुन्छन् होला । तर, प्रदेशको प्रमुखको जिम्मेवारी सम्हालेको एक महिनापनि नहुदैँ आफैँ निरन्तर खटेर काममा लागेको देख्दा कर्मचारी पनि आश्चर्यचकित परेका छन् ।
उहाँको खटाईलाई लिएर, प्रदेश प्रमुख कार्यालयका सचिव धुव्र गैंडा भन्नुहुन्छ, “विहान ६ बजेदेखि बिहान १० बजेसम्म नै उहाँ कार्यालयमा विभिन्न काम र विज्ञहरुकोसँगको छलफलमा नै ब्यस्त रहनुहुन्छ । “ विशेषगरी प्रमुख डा अहिराज बिहान ६ बजे कार्यालय पुगेपछि पहिला कर्मचारीलाई दिने कामबारेको तालिका बनाउनुहुन्छ । त्यसपछि उहाँले कार्यालयमा आफूलाई भेट्न समय लिएका व्यक्तिहरुको प्रोफाईल अध्ययन गर्नुहुन्छ, ताकि ती व्यक्तिको प्रोफाईल थाहा पाएर उनीहरुबाट यथोचित काम लिन सकियोस् ।
यसबारेमा थप बताउदैँ सचिव गैंडा भन्नुहुन्छ, “उहाँले हरेक विधेयकहरु आउनुपूर्व धेरै अध्ययन गर्नुहुन्छ, जसका लागि विज्ञहरुसँग धेरै छलफल गर्नुहुन्छ अनिमात्र प्रमाणीकरण गर्नुहुन्छ, यो एकदमै प्रशंसनीय कार्य हो ।”त्यत्तिमात्रै होइन, उहाँले पदभार सम्हालेको १ महिना हुनलाग्दा समेत उहाँले निजी सचिवालयका कर्मचारी राख्नुभएको छैन ।
बरु प्रदेश सचिवालयका कर्मचारीलाई नै कामको जिम्मा दिएर उहाँले कार्यसम्पादन गरिरहुनभएको छ। उहाँले पदभार ग्रहण गरेकै दिन कर्मचारीलाई जम्मा गरेर भन्नुभएको थियो, “मलाई सम्पूर्ण कर्मचारीहरुमाथि पूर्ण विश्वास छ हातेमालो गर्दै अघि बढ्ने हो । सो अभिव्यक्ति पछि कर्मचारी पनि खुसी भएको प्रतिक्रिया दिएका थिए ।” प्रदेश प्रमखमा नियुक्त भएपछि आफ्नो दिनज्यान दिएर काम गर्ने प्रतिबद्धता गर्नुभएका अहिराजप्रति आशावादी भएको सरोकारवालाहरुले बताउदैँ आएका छन् ।
२ विधेयक फिर्ता
कार्यभार सम्हालेको पहिलो दिनमै पृथ्वीनारायण शाहको फोटो कार्यकक्षमा टाँसेर चर्चा कमाउनुभएका प्रमुख अहिराजले प्रमाणीकरणका लागि पठाईएका विधेयक फिर्ता गरेर नयाँ नजिरको सुरुवात गर्नुभएको छ । प्रमाणीकरणका लागि पठाइएको स्वास्थ्य सेवासम्बन्धी र प्रदेश पदक वितरणसम्बन्धीको विधयेक फिर्ता पठाईएको प्रदेश सचिव गैंडाले जानकारी दिनुभयो । केही बुँदा थपघट गर्न र विज्ञहरुको परामर्शमा त्यसलाई थप पूर्णता दिन फिर्ता पठाईएको प्रदेश प्रमुख कार्यालयले जनाएको हो । हालसम्मको अवस्थामा जे ल्यायो त्यसलाई ल्याप्चे लगाएर पठाउने पद्धतिको विकास भएपनि प्रमुख अहिराजको यो कदमले भने राम्रो नजिरको स्थापना भएको कतिपयको बुझाई छ ।
हरेक प्रदेश भ्रमण गर्दै
नवनियुक्त प्रदेश प्रमुखका रुपमा पदभार ग्रहण गरिसकेपछि डा. अहिराजले हरेक प्रदेश भ्रमण गरी त्यहाँका प्रमुखसँग भेटेर अनुभव आदानप्रदान समेत सुरु गर्नुभएको छ । त्यत्तिमात्रै होइन, हरेक प्रदेशमा पुग्दा पृथ्वीनारायण शाहको फोटो उपहारमा दिएर उहाँले अग्रजको सम्मान गरेको भन्दै धेरै खुसी पनि देखिएका थिए ।
प्रदेशैपिच्छे घुमेर अनुभव र प्रभावकारी काम गर्नका लागि समन्वय गरिरहेका अहिराज छिट्टै प्रदेश नं २ लाई नमुना प्रदेशको रुपमा विकास गर्ने तयारीमा देखिनुभएको छ । त्यसैगरी जनकपुर बाट जितपुर जाने क्रममा निजगढ जङलमा सडक दुर्घटनामा परि छ्टपटाइ रहेका ४ जनालाई उद्धार गरी अस्पताल पुर्याएपछि पनि उहाँको प्रशंसा भएको थियो ।