
काठमाडाैं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएपछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो।आज दिउँसो २ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकमा देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपाका दुवै समूहबाट सभापति देउवालाई आएको प्रधानमन्त्रीको अफरबारे छलफल हुने प्रवक्ता शर्माले बताए। ‘नयाँ परिस्थितिबारे सभापतिले नेताहरुसँग परामर्श लिनुहुन्छ,’ प्रवक्ता शर्माले भने, ‘सभापतिलाई प्रधानमन्त्री बनाउने गरी प्रस्ताव आएका छन्। तर, सहमति बनी सकेको भने होइन ।’ आजको बैठकले भावी रणनीति तथा पार्टीको औपचारिक लाइन तय गर्ने प्रवक्ता शर्माको भनाइ छ।
कांग्रेस सभापति देउवाले जिम्मेवारी आएमा प्रधानमन्त्री पदबाट पछि नहट्ने बताउँदै आएका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले भने तत्काल सरकारमा जान नहुने अडान राख्दै आएका छन्।
श्रीमतीको ‘पेन्सन’ले गैंडा पाल्छुः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैँडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च निजी खर्चबाट व्यहोर्ने घोषणा गरेका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्ववन्यजन्तु दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले वन्यजन्तुप्रतिको प्रेमभाव दर्शाएका हुन्। प्रधानमन्त्री ओलीले चिडियाखानामा राखिएका जनावरका लागि सरकारले वर्षभरीको खाना खर्च व्यहोर्दै आएको र आफूले एक महिनाका लागि गैँडाको खाना खर्च व्यहोर्ने घोषणा गरी संरक्षणकर्तालाई उत्साहित तुल्याए।
उनले भने,‘प्रधानमन्त्रीका हैसियतले आफूले सरकारबाट पाउने रकम वर्षभरीको सबै कोरोना संक्रमण कोषमा दिएकाले श्रीमती राधिका शाक्यको निवृत्तिभरणबाट आउने रकमबाट गैँडाका लागि एक महीनाको खाना खर्च दिनेछौँ।’ सो अवसरमा प्रथम महिला शाक्य पनि सहभागी थिइन्।
प्रधानमन्त्री ओलीले सदर चिडियाखाना सानो भएकाले आगामी दिनमा वन्यजन्तुको उद्धार तथा वन्यजन्तुको परस्थानीय संरक्षण, वैज्ञानिक अध्ययन अनुसन्धान तथा पर्या–पर्यटन अभिवृद्धिका लागि भक्तपुरको सूर्यविनायकमा बृहत् खालको चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भई निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए। वन तथा वातावरण मन्त्रालयले सोका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दैछ।
प्रधानमन्त्री ओलीले जावलाखेलको चिडियाखाना अवलोकन गर्नका लागि आउने ज्येष्ठ नागरिक, गर्भवती महिला अपाङ्गता भएका तथा बालबालिकालाई हिँडडुल गरी वन्यजन्तु अवलोकन गर्न समस्या हुने भएकाले यसका लागि सरकारका तर्फबाट चार वटा विद्युतीय बहान (रिक्सा) उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयलाई आवश्यक समन्वय गरी प्रक्रिया अगाडि बढाउन आग्रह तथा निर्देशन दिए।
प्रधानमन्त्री ओलीले मानव र वन्यजन्तुको परापूर्वकालदेखि घनिष्ट सम्बन्ध रहेकाले मानिस र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्दै आगाडि बढ्नुपर्ने बताउँदै भने,‘मानिसको जत्तिकै यस धर्तीमा बाँच्न पाउने अधिकार भएकाले उनीहरुको अधिकारलाई हामीले उनीहरुको बाँच्न पाउने सुनिश्चित गर्नुपर्ने हुन्छ।’ प्रधानमन्त्री ओलीले विगतमा सदर चिडियाखाना मनोरञ्जनका उद्देश्यले तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले स्थापना गरेको भए तापनि हाल यसको उद्देश्य फराकिलो हुँदै गएको र चिडियाखाना मनोरञ्जन मात्रै नभई अध्ययन अनुसन्धनका लागिसमेत महत्वपूर्ण आधार रहेको बताए।
प्रधानमन्त्री ओलीले सदर चिडियाखानाको अवलोकन भ्रमणसमेत गरेका थिए। अवलोकनका क्रममा वन्यजन्तुलाई ससाना कोठामा घेराबार गरी राखिएकामा उनीहरुको प्राकृतिक आहारविहार, वितरणजस्ता अधिकार हनन् भएको आफूलाई महसुस भएको र उनीहरुलाई केही खुला छोड्नुपर्ने उनले जानकारी दिए।