अन्तत :‘११५ सांसद ओलीको पक्षमा, वामदेवको साथ पनि ओलीलाई’



काठमाडौं । ओली पक्षीय नेकपाका नेता एवम् सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ र केही दिनमै ११५ जना सांसद पुग्ने दावी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दावी गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल पक्षलाई सुझावसमेत दिएका छन् । उनले भने, ‘जतिसक्दो चाँडो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’

उनले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको सुनाए । पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनःस्थापनाको फैसला आएपछि ढंग पुर्याइएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुन्छ र विकृति सुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको सुनाए ।

उनले भने, ‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन् ।’ बस्नेतले अहिले दाहाल–नेपाल पक्ष ‘फ्रन्ट–गियर’मा नभई ‘ब्याक–गियर’मा लाग्नुपर्ने अवस्थामा रहेको पनि चित्रण गरे । उनले दाहाल–नेपाल समूह पुष ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बस्नेतको भनाइ छ । उनले नेकपा अहिले विभाजन नभएको जिकिर गरे । सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपछि प्रधानमन्त्रीसामू कसरी नैतिकताको प्रश्न आउने भन्दै उनले उल्टै प्रश्नसमेत तेर्साए ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको खेलमा नलाग्ने सुनाए । उता, जसपाका नेता राजेन्द्र महतोले दलको आधिकारिकता टुंगो लगाउन भनेकोले अहिले प्रचण्ड र माधव नेपाललाई सत्ता समीकरण ‘बोकाको मुखमा कुभिण्डो’ भएको बस्नेतको भनाइ छ । उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा नेपालको राजनीति लामो समयसम्म चल्ने भविष्यवाणी गरे । उनले भने, ‘अहिले पनि बल केपी ओलीकै कोर्टमा छ ।’

२०५२ सालको जस्तो संसदीय विकृति र विसंगति अहिले नदोहोरिने पनि उनले स्पष्ट पारे । उनले नेकपाभन्दा बाहिर सत्ता समिकरण नपुग्ने पनि दाबी गरे । उनले भने, ‘सत्ताको खेल आज नेकपाभित्रै छ । योभन्दा बाहिर छैन् ।’ भदौ २६ गतेअघिको अवस्थामा फर्किने हो भने पार्टी एकता सम्भव छ भनेर गृहमन्त्रीसमेत रहेका ओली पक्षका सचिवालय सदस्य रामबहादुर थापाले भनेको उल्लेख गर्दै उनले यदि त्यसो हो भने एकता हुने पनि सुनाए । तर, दाहाल–नेपाल पक्षले लड्डु खाँदै २२ जना सांसद आफूहरुतिर आउने भनेर पालेको भ्रम तोडिइसकेको पनि उनको दाबी छ ।

बस्नेतले दाहाल–नेपाल पक्षले सत्ता समीकरणको लागि कांग्रेसको साथ खोज्न थालेपछि नेकपाका धेरै सांसदले प्रधानमन्त्री ओलीलाई नै साथ दिने विश्वास दिलाए । उनल भने, ‘दाहाल र नेपाल समूहका धेरै माननीयहरुले प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ । यसरी सम्पर्कमा आउनेहरुलाई हामीले सहजीकरण गर्छौं ।’

उनले प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको महशुस गरेर नै यो कुरा बोलेको दाबी गरे । उनले भने, ‘उहाँले सूचना पाएर नै सुरक्षा थ्रेटको कुरा बोल्नुभएको हो ।’ उनले विगतमा पनि नेपालमा राष्ट्रियता, विकास र समृद्धिको अभियानमा लाग्नेहरुमाथि यस्तो भएको भन्दै भीमसेन थापा, मदन भण्डारी, वीरेन्द्र शाहको वंशनाशको प्रंसग उल्लेख गरे । त्यस्तै, उनले सुशील कोइरालाको मृत्युपनि प्रश्नको विषय भएको सुनाए ।

उनले अबको केही दिनभित्रै वामदेव गौतम पनि ओली पक्षमै खुल्ने पनि खुलासा गरे । उनले भने, ‘वामदेव गौतम जबजको व्याख्याता र केपी ओलीले नेतृत्व गरेको नेकपाको सशक्त नेता हो, अब केही दिनभित्रै यो कुरा क्लियर हुन्छ ।’

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार