दमकमा ओलीको गर्जन – प्रधानमन्त्रीबाट हटाएर देखाउनुस, दुई तिहाई भोट ल्याएर देखाइदिन्छु



दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चेतावनी दिएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अर्का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीबाट हटाउनका लागि दौडधुप गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले पदबाट हटाउन खुला चुनौती दिएका हुन् ।

झापा दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गदैै ओलीले आफूमाथि जनताको विश्वास भएकाले प्रधानमन्त्री पदबाट कसैले हटाउन नसक्ने दावी गरे । कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुसँग भएको भेटवार्ताले प्रचण्ड–नेपाल निरास बनेको भन्दै लड्डु खाएर खुशियाली मनाउनुको कुनै अर्थ नभएको बताए ।
प्रचण्ड–नेपाल भारतका लागि कम्फर्टेबल सरकार बनाउन चाहिरहेको भन्दै उनले देश विकास गर्ने भयो भनेर अतालिएको बताए । आफूहरुले देशका लागि धेरै विकास गरिरहेको दावी गर्दै उनले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने बताए ।

प्रधानमन्त्री ओलीले चीन नेपालमैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्सिप इन्डस्ट्रियल पार्क)को शिलान्यास गरेका छन् । झापा क्षेत्र नम्बर ५ को दमक नगरपालिका १०, कमल गाउँपालिका ७ र गौरादह नगरपालिका ५ को केही भाग जोडेर बन्न लागेको औद्योगिक पार्कको एक ओलीले शिलान्यास गरेका हुन् । अर्बाैं लगानीमा बन्न लागेको पार्क ओलीको निर्वाचन क्षेत्र हो । सो पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभेलप्मेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न सरकारले स्वीकृति दिएको छ ।

यसका लागि दुवै देशबीच सम्झौता भइसकेको छ। यो पार्क दश वर्षमा निर्माण हुने र ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ । एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार