
काठमाण्डौ । तीन अर्ब रुपैयाँ बराबरको सर्वसाधारणलाई प्राथमिक शेयर आईपीओ ल्याउने प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी भएको छ । बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वमा काठमाडौं रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी ल्याउने अन्तिम तयारी भएको हो ।
कम्पनीको अधिकृत पूँजी २० अर्ब रुपैयाँ,जारी पूँजी १० अर्ब रुपैयाँ रहने प्रस्ताव गरिएको छ । कम्पनीको तत्काल चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहने छ । सर्वसाधरणलाई ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गरेर कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याउने तयारी छ । कम्पनीमा ७० प्रतिशत संस्थापक शेयर हुनेछ । त्यसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत तर्फबाट लगानी हुनेछ । यस्तै वाँकी ३० प्रतिशतको लागि सर्वसाधारणलाई शेयर निष्काशन गर्नेछ छ ।
७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार वा पुनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको पनि कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिमा २ जना संस्थागत,दुई जना व्यक्तिगत, दुई जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी सात जना सदस्य रहने जनाएको छ । यसैगरी अन्नपुर्ण रि इन्स्योरेन्स र प्रुडेन्सियल रि इन्स्योरेन्स पनि सञ्चालनको तयारीमा रहेका छन् ।